Logo

अर्का चर्चित फुटबल खेलाडीको यसरि भयो दुःखद निधन



 

जर्मन लेजेन्ड फरवार्ड गर्ड मुलरको आइतबार निधन भएको छ । विश्वकप र युरोपेली च्याम्पियन विजेता फरवार्डलाई सन् २०१५ मा अल्जाइमर रोग पुष्टि भएको थियो । त्यसपछि उनलाई विशेष हेरचाहका साथ घरमै राखेर उपचार गरिएको थियो । सोही रोगबाट नै उनको निधन भएको उनको परिवार र बायर्न म्युनिखले जनाएको छ । मुलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ अन्तर्राष्ट्रिय गोल गरेका थिए । पश्चिम जर्मनीले सन् १९७४ को विश्वकप जित्दा उनी टोलीका महत्वपुर्ण सदस्य रहेका थिए । फाइनलमा नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो ।

जर्मन क्लब बायर्न म्युनिखमा १५ वर्ष बसाईको क्रममा मुलरले ४२७ बुन्डेसलिगा खेलमा ३६५ गोल गरेका थिए । उनले ७४ युरोपियन खेलमा ६६ गोलसमेत गरेका थिए । एक सिजनमा ४० गोल गर्ने कीर्तिमान बनाएको उनको यो कीर्तिमानलाई गत सिजन बायर्नकै रोबर्ट लेवान्डोस्कीले ४१ गोल गर्दै ४७ वर्षपछि तोडेका थिए ।

बायर्नका अध्यक्ष हर्वट हेनरले आज एफसी बायर्न र यसका सबै प्रशंसकहरुको लागि कालो दिन रहेको बताएका छन् । ‘गर्ड मुलर सबैभन्दा महान फरवार्ड मध्ये एक हुन् । उनी राम्रो व्यक्ति र विश्व फुटबलको पहिचान हुन् । हामी सबै उहाँकी श्रीमती र उनको परिवारको शोकमा एकजुट छौं । उहाँको नाम र स्मृति सधैभरि जीवित रहनेछ,’ बायर्नले जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष हर्वट हेनरले भनेका छन् ।

सन् १९६३ मा टीएसभी नोर्डलिजेनबाट व्यवसायिक खेल करियर शुरु गरेका मुलर १९६४ मा बायर्नमा जोडिएका थिए । बायर्न दोस्रो डिभिजनमा रहँदा उनले १९६४–६५ को सिजनमा ३३ गोल गरेपछि बायर्न शीर्ष डिभिजनमा फर्किए । त्यसको चार वर्षपछि बायर्न जर्मन च्याम्पियन बन्न सफल भए ।

मुलरले बायर्नबाट चार बुन्डेसलिगा, चार डिएफबी पोकल, एक रिजनल कप, ३ युरोपियन कप, एक युरोपियन कप विनर्स कप र एक इन्टरकन्टिनेन्टल कप जितेका छन् । उनी १५ सिजन बायर्नमा रहँदा ७ पटक बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता चुनिएका थिए ।

मुलर सन् १९७० मा बालोन डिओर जित्न सफल भएका थिए । १९७९ मा बायर्न छाडेपछि उनी अमेरिकन क्लबमा आबद्ध भएका थिए । त्यहाँ तीन सिजन खेलेपछि उनले व्यवसायिक खेल करिअरबाट सन्न्यास लिएका थिए । १९७४ को विश्वकप पछि उनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता