Logo

एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत



काठमाण्डौं,असोज २ । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, वरिष्ठ उपाध्यक्ष खत्रीलगायतका पदाधिकारीले खेलाडीलाई बधाइ दिदै स्वागत गरे ।
महिला ७८ किलोमिटर दूरी प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय लगाइन् । महिलामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएकोमा छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार छैटौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।

पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाए । समूहमा भने नेपालको पुरुष÷महिला दुवै टिम पहिलो भएको वरिष्ठ उपाध्यक्ष खत्रीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता