Logo

जिल्ला प्रशासन कार्यालय नै एक हप्ता बन्द गर्ने निर्णय



 

काठमाडौ । कोभिडको तेस्रो लहरले उच्च पदस्थहरुलाई प्रभावित बनाएको छ । नेताहरु हुँदै अहिले विभिन्न कार्यालयका कर्मचारीहरु संक्रमित भएका छन् । राजधानीमा सिंहदरवार, प्रधानमन्त्री कार्यालय तथा सर्वोच्च अदालतका कर्मचारीहरु संक्रमित भएका छन् । सीसीएमसीका अध्यक्ष सहित प्रधानमन्त्री कार्यालयका ४० कर्मचारी संक्रमित भएका छन । उता परासिमा भने जिल्ला प्रशासन कार्यालय नै बन्द गर्ने निर्णय गरिएको छ ।

कर्मचारीहरुमा संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको छ । अधिकृतसहित २ जना कर्मचारीमा कोभिड पुष्टि भएको छ अन्यमा पनि केही लक्षण देखिएका छन् । उनीहरुको परिक्षण गरिएको छ । कर्मचारी नै संक्रमित भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्धारा जारी सूचनामा उल्लेख छ ।

कार्यालयबाट प्रदान गरिने नागरिकता, नागरिकताको प्रतिलिपि, पासपोर्ट र राष्ट्रिय परिचय पत्रका काम माघ ९ गतेसम्मका लागि बन्द गरिएको हो । प्रशासनमा दैनिक २ सय देखि ३ सय जना सेवाका लागि आउने गरेका छन् ।

यसैबीच पछिल्लो पटक संक्रमण दर बढ्दै गएको छ । १५ दिनअघि शून्यजस्तै रहेको जिल्लामा अहिले दैनिक १० देखि १२ जनामा संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए ।

अहिले सरावल र पाल्ही गाउँपालिका र स्वास्थ्य कार्यालयबाट मात्र कोभिड परीक्षण हुँदै आएकोमा अन्य स्थानबाट पनि सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए । हाल जिल्लामा ८३ जना कोभिडका सक्रिय संक्रमित छन् ।

यो पनि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोभिड संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान स्वाब परीक्षण गराउँदा संक्रमण देखिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। मन्त्री आलेको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।

मन्त्री आलेका स्वकीय सचिव रेग्मीलाई पनि संक्रमण देखिएको छ। मन्त्री आलेको कन्ट्याकट्रेसिङमा परेका मन्त्रालयका कर्मचारीहरु स्वाब परीक्षणको तयारीमा छन्। मन्त्री आलेको सचिवालयले सम्पर्कमा आएका सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रीमा कोभिड देखिएपछि मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता