Logo

पाँचौँ पटक प्रधानमन्त्री भएपछि भारतको पहिलो तीनदिने भ्रमणमा देउवा



 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीनदिने भ्रमण गर्न लाग्नुभएको छ । प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य सुरु गरेको छ । देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ ।

पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिकमा बेलायत पुग्नुभएको थियो । प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धी नगरमा यही पुस २६ गतेदेखि २८ मा हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन निम्तो पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले शनिबार राति गोरखापत्रसँग कुराकानी गर्दै भन्नुभयो, “भारतीय प्रधानमन्त्रीको निम्तो प्राप्त भएको छ । त्यसअनुसार भ्रमणको आवश्यक गृहकार्य भइरहेको छ ।” कोभिडको पछिल्लो भेरियन्टको भारतमा प्रभाव बढ्दै गइरहेको बेला भ्रमण के हुने भन्ने अन्तिम टुङ्गो भने लागिनसकेको बताइएको छ । भ्रमण हुने निश्चित भएमा यही पुस २५ गते प्रधानमन्त्री देउवा भारत जानुहुने भएको छ ।

प्रमुख स्वकीय सचिव देउवाले भन्नुभयो, “कोभिडको समस्या कुन स्तरमा हुन्छ । त्यसमा पनि भर पर्छ । तर, भ्रमणको गृहकार्य गर्ने काम सुरु भइसकेको छ ।” प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच पहिलो भेट जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिँदै गर्दा स्कटल्यान्डको ग्लास्गो सहरमा भएको थियो ।

सो द्विपक्षीय भेटमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । ग्लास्गोमै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणपछि आफूले भारत भ्रमण गर्ने सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो ।

बालुवाटार स्रोतका अनुसार गुजरातमा सो कार्यक्रम नभएको भए भारतीय प्रधानमन्त्री मोदीले पहिले नेपाल भ्रमण गर्ने र त्यसपछि नेपालका प्रधानमन्त्री देउवाको भारत भ्रमण तय हुने कार्यक्रम थियो ।प्रधानमन्त्री देउवाको भ्रमण योजनाको पूर्ण स्वरूप नबनिसकेको हुँदा भारत भ्रमणको भेटघाटको विस्तृत कार्यतालिका नबनिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले भारत भ्रमणका एजेन्डाका विषयमा पनि तयारी गरिरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता