Logo

समुन्द्रमा हेलिकोप्टर दुर्घटनापछि माडागास्करका मन्त्री रातभर पौडिएर बाँचे (भिडियोसहित)



एजेन्सी, । मानिसको बाँच्न लेखेको रहेछ भने जतिसुकै ठूलो दुर्घटनामा पनि बच्ने सम्भावना बन्दोरहेछ । यस्तै घटना माडागास्करमा भएको छ । अफ्रिकी मुलुक माडागास्करका एकजना मन्त्री हेलिकोप्टर दुर्घटनामा बचेका थिए । त्यो पनि समुन्द्रमा खसेको हेलिकोप्टरबाट उम्कन सफल भई रातभर पौडिएर ।

प्रहरीसम्बन्धी मन्त्री सेरगे गेलीले आफ्नो मृत्युको समय नआएको बताएका छन् । उनीसँगै रहेका दुई प्रहरी अधिकारी पनि बाँचेका छन् ।

३९ जनाको मृत्यु हुनेगरी भएको यात्रुवाहक डुंगा दुर्घटनाको अवलोकन गर्न पुगेका उनीहरु चढेको हेलिकोप्टर समुन्द्रमा दुर्घटना भएको थियो । घटनाबाट बाँच्न सफल मन्त्री गेली समुन्द्रको किनारमा पुग्न सफल भए । घटनामा मृत्यु हुनेहरुप्रति राष्ट्रपति एन्ड्री रेजोलिनाले श्रद्धाञ्जली व्यक्त गरेका छन् । गेली बाँच्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।

सोमबारको दुर्घटनापछि ५७ वर्षीय मन्त्री गेली साँझ साँढे ७ देखि भोलिपल्ट विहान साँढे ७ सम्म पौडिएर ज्यान बचाएका थिए । उनले आफूलाई कुनै चोट नलागेको तर चीसो भएको बताएका थिए ।

समुन्द्री तटको महाम्बो गाउँमा पुगेका मन्त्री गेलीले आफ्नो भिडियो परिवार, साथीभाई र सरकारी अधिकारीहरुसम्म पुगोस् भनेका थिए । भिडियोमा उनी प्रहरीको पोशाकमा देखिन्छन् । निकै थाकेको देखिएका छन् । उनले हेलिकोप्टरको सिटलाई प्रयोग गरी पौडिएको जनाइएको छ ।

मन्त्री गेली खेलकुदमा चाख राख्छन् । अझै पनि नियमित व्यायाम गर्छन् । उनी पूर्व प्रहरी अधिकारी हुन् । यसैवर्ष मन्त्री नियुक्त भएपछि प्रहरी सेवा छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता