Logo

कोरोनाले सिकिस्त छन् बिरामी अस्पतालमा बेड नहुँदा भुइँमै उपचार !



अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ ।

दिनमा १७ देखि २० जना संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार अस्पतालमा दिनमा ५५ सिलिन्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालको अति आवश्यक खर्च महिनामा १ करोड ७ लाख ९० हजार ५ सय भइरहेको वलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको पहलमा अस्पताल खुले पनि असोजयता खर्च नपठाएको उनले बताए । ‘हामी ऋणमा काम गरिरहेका छौं । अब उधारोमा सामान पाउन गाह्रो हुन थाल्यो । अहिले अक्सिजनको अभाव हुन थालेको छ,’ उनले भने, ‘समयमै आवश्यक सामान किन्न सकिएन भने बिरामीको उपचार नपाएर ज्यान जान सक्छ ।’

बेड नभएका कारण बिरामी फर्काउनुपरेको र गम्भीर अवस्थाकालाई भुइँमै सुताएर उपचार गरिरहेको उनले बताए । ‘छिट्टै बेड नबढाए र आवश्यक सामान किन्न नसके अवस्था साह्रै भयावह हुन सक्छ । अक्सिजन र उपचार नपाएरै बिरामीको ज्यान जान सक्छ ।’

अस्पतालमा चार मेडिकल अधिकृत र १२ नर्स कार्यरत छन् । एक नर्सले एक बिरामीको स्याहार गर्नुपर्ने अवस्थामा यति थोरै जनशक्तिले सेवा दिन पनि कठिन भइरहेको उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

सामाजिक सुरक्षा कोषमा २ लाखभन्दा बढी श्रमिक सूचीकृत

नयाँ युगको शुभारम्भ’का रुपमा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत भएका छन् । योजना कार्यान्वयनमा आएको झण्डै दुई वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा शुक्रवारसम्म २ लाख १२ योगदानकर्ता सूचीकृत भएका हुन् । कोषका अनुसार हालसम्म १३ हजार ७६५ रोजगारदाता आबद्ध भएका छन् ।

सबैभन्दा बढी वाग्मती प्रदेशमा १ लाख ४९ हजार ६१४, प्रदेश नं १ मा २० हजार ४३३, प्रदेश नं २ मा १४ हजार ३१७, गण्डकीमा ७ हजार १४२, लुम्बिनीमा ७ हजार ११३, सुदूरपश्चिममा ८१४ र कर्णालीमा ५२१ सूचीकृत भएका छन् ।

वाग्मती प्रदेशबाट ८ हजार २०४ जना, प्रदेश नं १ बाट १ हजार ४३३ जना, लुम्बिनी प्रदेशबाट १ हजार २२० जना, गण्डकीबाट ६१८ जना, प्रदेश नं २ बाट ५६० जना, सुदूरपश्चिमबाट १६८ जना र कर्णाली प्रदेशबाट १४७ जना रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

कोषमा शुक्रवारसम्म ५ अर्ब २७ करोड ७४ लाख ७७ हजार ९३८ रुपैयाँ योगदान संकलन भएको छ । कोषले सोही अवधिसम्म २ हजार १८ लाभग्राहीलाई ६ करोड ९८ लाख रुपैयाँ दा बी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता