फूलबुट्टे सारी गाएर भाइरल बियोन्सेले भनिन् ‘आई लभ यु सो मच मदनकृष्ण(भिडियो हेर्नुस्)
काठमाडौं । गएको आइतबार (मार्च २१० कलाकार मदनकृष्ण श्रेष्ठले युगान्डाकी गायिका डी क्याप्टेन बियोन्से फाम्सीलाई भेट्ने इच्छा व्यक्त गर्दै फेसबुकमा स्ट्याटस लेखे । मदनकृष्णले बियोन्सेको गायिकीको तारिफ गर्दै लेखेका थिए, “नेपाली गीत–संगीतलाई यसरी मन पराइदिएकोमा यी गायिकालाई त एकपल्ट भेटेरै धन्यवाद दिन पाए नि हुन्थ्योजस्तो लाग्यो । तर, घर कहाँ हो, युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन‘ हाहा‘।”
मदनकृष्णको यो इच्छा बुधबार पूरा भयो । ‘फूलबुट्टे सारी‘’को कभर गाएर चर्चामा आएकी यी गायिका आफैँ मदनकृष्णलाई भेट्न काठमाडौंस्थित एक रेस्टुरेन्टमा पुगिन् । नेपालका ‘लेजेन्डरी’ व्यक्तित्वलाई प्रत्यक्ष भेट्न पाउँदा आफू निकै हर्षित भएको बियोन्सेको प्रतिक्रिया थियो ।
उनी आफैँ पनि मदनकृष्णलाई भेट्न आतुर थिइन् । उक्त गीत गाउनुको प्रेरणा नै मदनकृष्ण नै भएको उनी बताउँछिन् । बुधबारको भेटमा बियोन्सेले खुसीको आँसु झार्दै भनिन्, “तपाईंको कारण मेरो जिन्दगीमा आज यो सुनौलो दिन आइरहेको छ ।
नेपालको यस्तो वरिष्ठ कलाकार, जसलाई भेट्न जो कोहीलाई सजिलो हुँदैन । आज म त्यही व्यक्तित्वलाई भेट्दै छु भनेर मैले विश्वासै गर्न सकिरहेको छैन । आई लभ यु सो मच । म सधैँ तपाईंलाई र नेपाललाई माया गरिरहनेछु ।” उनी मदनकृष्णलाई भेट्न आफ्नो देशको झन्डाअंकित पहिरनमा आएकी थिइन् ।
बियोन्सेले यसो भनिरहँदा मदनकृष्ण भने छेउमा मुस्कुराइरहेका देखिन्थे । बियोन्सेसँग भेट्छु भनेर आफूले स्ट्याटस लेखेको नभई बियोन्सेको प्रतिभाले लेख्न बाध्य बनाएको उनी बताइरहेका थिए । ‘फूलबुट्टे सारी‘’को अहिलेसम्म आएका हरेक भर्सनको आ–आफ्नै मिठास रहेको मदनकृष्ण बताउँछन् । उनी भन्छन्, “यो गीतको हरेक भर्सनको आ–आफ्नै टेस्ट छ । तपाईंको छुट्टै छ, मार्मिक लामाको छुट्टै छ । मिलन नेवारको छुट्टै छ र मेरो छुट्टै छ ।”