जीवनशैली

एङ्जाइटी भनेको के हो, सबैभन्दा जोखिममा को ?

बीबीसी। गएको ६ महिनामा हाम्रो जीवनमा धेरै नाटकीय परिवर्तन भएका छन् र त्यसले हामीमा चिन्ता र एङ्जाइटी बढाएको एउटा नयाँ अध्ययनले देखाएको छ।अध्ययनले आमाबुवाहरू खासगरी आफ्ना छोराछोरीको स्वास्थ्यप्रति चिन्तित रहेको देखाएको छ। एङ्जाइटी हुँदा के हुन्छ र कसरी त्यसबाट मुक्त हुन सकिन्छ ?

एङ्जाइटी के हो ?

एङ्जाइटी भनेको तनावग्रस्त हुनु वा चिन्तित हुनुभन्दा फरक हो। साधारण अवस्थामा हामीलाई कहिलेकहीँ यी सबै हुने गर्छ र त्यस्तो कहिलेकहीँ हुनु राम्रो कुरा पनि हुन सक्छ। तर निरन्तरको एङ्जाइटी त्रासको रूपमा बस्छ र मनबाट त्यस्तो भाव लामो समय गएन र झन् गाढा भयो भने त्यसले तपाईँको जीवनलाई असर पार्न थाल्छ। तपाईँ दैनिक गर्नुपर्ने कामबाट टाढिनुहुन्छ, काम रोक्नुहुन्छ।

एङ्जाइटी हुँदा तपाईँ जतिखेर पनि चिन्तित हुनुहुन्छ, थाक्नुहुन्छ र कुनै कुरामा केन्द्रित हुन सक्नुहुन्न। यसले तपाईँको निद्रामा समस्या ल्याइदिन्छ र तपाईँलाई मानसिक अवसादको स्थितिमा पुर्‍याइदिन सक्छ।

तपाईँको शरीरमा असर पार्ने अरू लक्षणहरू पनि हुन सक्छन्। जस्तो कि मुटुको अति तीव्रचाल वा सास फेराइ, पसिना आउने, रिङटा लाग्ने पखाला लाग्ने वा बिरामी महसुस गर्ने आदि। एङ्जाइटी विभिन्न प्रकारका हुन सक्छन् र मध्यमदेखि गम्भीर लक्षण देखाउने हुन सक्छ। दश जनामा एकजनालाई कुनै समयमा एङ्जाइटी या कुनै कुरादेखि डरलाग्ने समस्या हुन सक्छ तर धेरैजसोले त्यसको उपचार खोज्दैनन्।

सहयोगका लागि कहाँ जाने ?

द रोयल कलेज अफ साइकियाट्रिष्ट यूकेले आफैँले आफूलाई सहयोग गर्न यस्ता उपाय सुझाएको छ:

साथी वा नातेदारसँग कुराकानी गर्ने
सेल्फ हेल्प अथवा अनलाइन सहयोग समूहमा सदस्य बन्ने
तनाव कम गर्ने उपायहरू सिक्ने
योग वा कसरत गर्दा, किताब पढ्दा र सङ्गीत सुन्दा मद्दत मिल्न सक्छ। मदिरा सेवन कम गर्दा वा चुरोट खान छोड्दा पनि एङ्जाइटी कम गर्न सहयोग पुग्न सक्छ।

यस्ता समस्याबाट मुक्तिका लागि आफैले पढ्न सकिने किताबहरू पनि पाइन्छन्। कग्निटिभ बिहेभियरल थेरापी (सीबीटी) एउटा त्यस्तै किताब हो। यसमा आफूसँग भएका धेरै समस्यालाई पहिला खण्डित गर्न सिकाइन्छ। यो व्यग्रताका गम्भीर लक्षण भएका बच्चाहरूलाई पनि सहयोगी हुन सक्छ र आमाबुवालाई त्यस्तो थेरापी कसरी गराउने भन्ने सिकाउन सकिन्छ।

एङ्जाइटी यूकेकी निकी लीडबेटर भन्छिन्, “चुपचाप बसेर त्यसबाट पीडित हुनु हुँदैन।” उनले डाक्टरकहाँ जाने र आफ्ना लक्षण भन्न सुझाव दिइन्। उनी भन्छिन्, “तर सबैका लागि एउटै उपाय काम नगर्न पनि सक्छ।”

बच्चा र युवा पनि प्रभावित छन् कि ?

अक्सफर्ड विश्वविद्यालयमा क्लिनिकल साइकोलोजीकी प्राध्यापक क्याथी क्रेसवेलले भनिन् “कसैलाई असाध्यै मुस्किल भएको छ तर केहीले विद्यालयको दबाब नहुँदा निकै राम्रो गरिरहेका छन्।” उनले गरेको सर्वेक्षणले लकडाउनको पहिलो महिनामा सहभागी भएका प्राथमिक विद्यालयका विद्यार्थीहरूमा बेखुसी र तनाव उत्पन्न भएको देखाएको थियो।

तर माध्यमिक उमेर समूहका बच्चामा थोरै मात्र त्यस्ता समस्या भएको र किशोरकिशोरीले उनीहरूका मनोभाव र बानीव्यवहार परिवर्तन नभएको बताएका थिए। एनएचएसले बालबालिका र युवालाई सहयोग पुर्‍याउने पाँच सुझाव दिएको छ।

उनीहरूका कुरा सुन्नु: के भइरहेको छ सोध्नु ताकि कुराकनी गर्न उनीहरू सहज महसुस गरून्।
उनीहरूको जीवनमा सहभागी हुनु: उनीहरूलाई महत्त्वपूर्ण लाग्ने विषयमा रुचि देखाइदिनु
सकारात्मक खालका नियमित कामको समर्थन गर्नु: सकारात्मक रोल मोडल बन्नु र नियमित समयमा सुत्न तथा राम्रो खानेकुरा खान र सक्रिय बन्न
सहयोग गर्नु उनीहरूका रुचिलाई प्रोत्साहन दिनु: सक्रिय रहँदा, सिर्जनात्मक काम गर्दा र कुनै समूहको सदस्य बन्दा मानसिक स्वास्थ्यका लागि राम्रो हुन्छ
उनीहरूले भनेका कुरालाई गम्भीर रुपमा लिनु: उनीहरूले जे भन्छन् त्यसलाई महत्त्व दिनु र केही अप्ठ्यारो महसुस गरे सहयोग गर्नु
एङ्जाइटी के कुराले सुरु हुन सक्छ?

स्वास्थ्य र पैसाबारेको चिन्तादेखि कार्यक्षेत्र, स्कूल वा व्यक्तिगत सम्बन्धमा आएको परिवर्तनले एङ्जाइटी मनमा गढ्न सक्छ। महामारीका बेला व्यग्रता सुरु गराइदिने कारकका रुपमा भाइरसको डर, बाहिर जाने त्रास, अरूलाई सङ्क्रमित गराइदिने त्रास, स्वाभाविक जीवनमा फर्कने विषयको त्रास र भविष्य के होला भन्ने त्रास जस्ता विषयवस्तु हुन सक्छन्।

च्यारिटी एङ्जाइटी यूकेले यसलाई कोरोना एङ्जाइटी भनेको छ। उक्त संस्थाले लकडाउन खुकुलो पारिएपछि हेल्पलाइनमा फोन गर्नको सङ्ख्यामा असाध्यै वृद्धि भएको जनाएको छ। फोन गर्नेहरूमा नियमितभन्दा फरक र जटिल समस्या भएकाहरू रहेका र उनीहरूले फोनमा सामान्यभन्दा लामो समय बिताउने गरेका छन्।

लकडाउन र सामाजिक दूरीले मानिसहरूका नियमित व्यवहारमा परिवर्तन ल्याइदिएको र परिवार र साथीहरू भेट्न नपाएकोप्रति मनोचिकित्सकहरूले दिएका छन्। त्यसले एङ्जाइटी झन् बढाइ दिनसक्ने उनीहरूको भनाइ छ।

भाइरसको डरका कारण मानसिक समस्याका लागि सहयोग पनि नखोज्ने गरिएको भनेर चिन्ता प्रकट गरिएको छ। त्यसो गर्दा आपत्‌कालीन अवस्थामा पुग्ने गरेको बताइएको छ। द रोयल कलेज अफ साइकियाट्रिस्टका डा बिली बल्यान्डले भने, “यदि सन्चो नभए जस्तो भयो भने महामारीका अवस्थामा पनि उपचार पाइन्छ।”

सबैभन्दा जोखिममा को?

एङ्जाइटी धेरैलाई हुने गर्छ। अहिले धेरै मानिस आफ्नो जीवनबारे तनावमा परेका छन्। तपाईँको जीवनमा भएका ठूला परिवर्तनहरू, दु:खदायी घटनाहरूले तपाईँलाई एङ्जाइटीतर्फ धकेल्न सक्छ। मानसिक समस्या हुँदा अरू रोग लाग्दा जस्तै तनावग्रस्त बनाइदिन सक्छ।

तपाईँ तनावग्रस्त हुने बानी तपाईँको अणुवंशसँग जोडिएको पनि हुनसक्छ। किशोरकिशोरीहरू र युवाहरू धेरैजसो एङ्जाइटी महसुस गर्छन्। खासगरी शिक्षा पाउन विशेष सहयोग आवश्यक पर्नेहरू र निम्न आय भएका परिवारका केटाकेटीहरू धेरैजसो जोखिममा रहेका हुन्छन्।

विज्ञहरूले अहिले कक्षाकोठा बाहिर बिताएको समयको असरबारे विश्लेषण गर्न केही समय लाग्ने बताएका छन्। प्राध्यापक क्रेसवेल भन्छन्, “केटाकेटीले विद्यालयको परिवर्तित दैनिकी र अनिश्चिततालाई कसरी लिएका भन्नेबारे उनीहरूलाई नजिकबाट नियाल्न जटिल छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *