Logo

महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित



काठमाण्डौं,भदौ २८ । महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महिला उद्यमी महासंघ नेपालले आफ्नो २१औं वार्षिक साधारण सभाको अवसरमा बिहीबार पलेशालाई नगदसहित सम्मान गरेको हो । बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा भएको साधारण सभाको उद्घाटन सत्रको अवसरमा पेरिस पारालिम्पिकमा कांस्य विजेता पलेशा सम्मानित भएकी हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत र  महासंघकी अध्यक्ष शोभा ज्ञवालीले पलेशालाई सम्मानपत्र र नगद ५० हजार ५ सय रुपैयाँसहित सम्मान गरेको हो । अध्यक्ष ज्ञवालीले आफ्नो व्यक्तिगत तर्फ बाट पलेशालाई नगद सम्मान गरेकी हुन् । पलेशाले जितेको पदक नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो सफलता हो ।

ऐतिहासिक सफलता प्राप्त गरेकी पलेशालाई सम्मान गर्न पाउँदा गौरान्तिवत महसुस भएको महिला उद्यमी महासंघकी अध्यक्ष ज्ञवाली बताइन् । सो अवसरमा ज्ञवालीले पलेशाको अथक मिहिनेतबाट यो ऐतिहासिक सफलता प्राप्त भएको उल्लेख गर्दै उनलाई सम्मान गर्न पाउँदा महिला उद्यमी महासंघ नेपाल निकै हर्षित भएको बताइन् । पलेशाको यो यात्रा दृढ संकल्प, साहस र समर्पणको एउटा अद्वितीय उदाहरणको रूपमा रहेको महासंघकी अध्यक्ष ज्ञवालीको विश्वास छ ।

ज्ञवालीले पलेशाको सफलताले खेलक्षेत्र मात्र नभई समाजमा रहेका हरेक महिलालाई असम्भव देखिएका कुराहरूलाई सम्भव बनाउन प्रेरणा मिल्ने आशा व्यक्त गरिन् । पलेशाले यो प्रतिस्पर्धामा लड्नभन्दा अगाडि समाजसँग लड्न आफूले धेरै चुनौतीको सामना गर्नु परेको उल्लेख गर्दै आफूमा आत्मविश्वास र दृढ संकल्प भए हरेक अफ्ठ्यारा परिस्थिति पार गर्न सकिने बताइन् । महिला उद्यमीबाट सम्मान पाउँदा आफूलाई धेरै गर्विलो महसुस भएको उनको भनाइ थियो । उक्त कार्यक्रममा पलेशाका पिता प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता