Logo

पहिलो ओलम्पिक पदक विजेता पलेशालाई राखेपको भब्य स्वागत



काठमाडौ,भदौ २० । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बुधबार भब्य स्वागत गरेको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ८ बजे अवतरण गरेको पलेशासहितको पारा तेक्वान्दो टोलीलाई राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य, नेपाल तेक्वान्दो संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारी, आफन्त, एपीएफको ब्यान्ड टोली, पञ्चे बाजा, शुभचिन्तकलगायतले भब्य स्वागत गरे । त्रिभूवन विमानस्थलमा टोलीलाई स्वागत गर्दा तेक्वान्दो खेलाडीको बाक्लो उपस्थिति रहेको थियो ।

त्रिभूवन विमानस्थलमा स्वागतपछि पलेशासहित अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठको टोलीलाई नगरपरिक्रमा गराइएको थियो । त्रिभूवन विमानस्थलबाट सुरु भएको नगर परिक्रमा गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, पलेशाको गृह क्षेत्र बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै त्रिपुरेश्वरस्थित राखेपको प्राङ्गण आएर कार्यक्रममा परिणत भएको थियो । नगर परिक्रमाको अग्र भागमा प्रहरीको स्कटिङ टोली, एपीएफको ब्यान्ड टोली, फोटो पत्रकार र क्यामराम्यानका लागि छुट्टाइएको सवारी साधन र त्यसपछि पारा तेक्वान्दो टोलीका लागि व्यवस्था गरिएको सवारी साधन थियो । ट्राफिक व्यवस्थापन चुस्त थियो ।

पारा तेक्वान्दो टोली सवार सवारी साधनमा खेलकुद मन्त्री चौधरी, सदस्य–सचिव घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ थिए ।

खेलकुदमन्त्री चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शीर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नु पर्ने बताए । उनले खेल संघलाई खेल विकासमा ध्यान दिन आग्रह गर्दै एकतवाद्ध भएर काम गर्न सके खेलकुदले देशलाई धेरै दिन सक्ने विश्वास व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न पलेशा, प्रशिक्षक कविराज नेगी लामा, नेपाल तेक्वान्दो संघ, पलेशाका परिवारलगायतको धेरै संघर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको बताउदै पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुन नै निर्माण गरेको र सो अनुरूपमा पुरस्कारका लागि राखेपको कार्यकारी समितिले निर्णय गरी सिफारिस गरिसकेको जानकारी गराए ।

उनले अहिले पलेशा र एरिका गुरुङ (एसियाली खेलकुदकी रजत पदक विजेता) लाई युवाहरूका हिरोको रूपमा चर्चा गरे । उनीहरूजस्ता हिरोहरू जन्माउने खेल र प्रशिक्षकप्रति उनले आभार व्यक्त गरे । सदस्य–सचिव घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै आगामी एसियाली खेलकुदका लागि तयारी सुरु भैसकेको बताए । उनले पलेशाले ओलम्पिकमा पदकको खाता खोलेको बताउदै यो खातामा पदक थप्न कैयन् खेलाडी लागि पर्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षक लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएको बताए । प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि सुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन् । यद्यपि, यसपल्ट रिपाचेजमा कांस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ । प्रशिक्षक लामाले पलेशाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए । उनले मिहिनत ग¥यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताए ।

पलेशाले न्यानो स्वागतका लागि धन्यवाद दिदै आफूले पदक जित्छ भन्ने सबैको भरोसालाई कायम राख्दै सफल भएकोमा खुशी व्यक्त गरिन् । पलेशाले आफूले जितेको पदक आफ्नो मात्र नभइ सिंगो राष्ट्र र सम्पूर्ण नेपालीको भएको बताइन् ।

पलेशाले आफैलाई विश्वास गर्नु नै जितको सबै भन्दा ठूलो हतियार भएको बताउदै आफूले आफैलाई विश्वास नगर्ने हो भने कहिले पनि सफलता हात पार्न नसकिने धारणा व्यक्त गरिन् ।

नेपाल पारालिम्पिक कमिटकिा कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटी र नेपाल तेक्वान्दो संघका प्रवक्ता सामराज्यविक्रम पाण्डेले नेपाललाई अमूल्य पदक दिलाएकोमा पलेशासहित सम्पूर्ण टिमलाई बधाइ दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता