लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र देखाउन सकिने व्यवस्था गर्न समझदारी
काठमाण्डौं,भदौ ४ । सरकारका दुई विभागहरुबीच राष्ट्रिय परिचयपत्रलाई सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को रूपमा प्रयोग गर्ने व्यवस्था गर्न समझदारी भएको छ ।
गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र भौतिक पूर्वाधार तथा यातायात मनत्रालय अन्तरगतको यातायात व्यवस्था विभागबीच यसबारेको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्रोतका अनुसार आगामी दशैंभन्दा अघि नै लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र देखाएमा हुने गरी प्रणाली तयार गरिनेछ । यसका लागि ३० साउनमा दुवै पक्षबीच पारस्परिक सहकार्यमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बरको प्रयोग गरी सवारी चालक अनुमतिपत्रको विवरण हेर्न तथा रूजु गर्ने प्रणालीको विकास, परीक्षण तथा सञ्चालन गर्ने सहमति भएको छ ।
चालकले चालक अनुमतिपत्रको सट्टा राष्ट्रिय परिचयपत्र देखाएमा वा पञ्जीकरण विभागले प्रणालीबाट उपलब्ध गराएको क्यूआर कोड देखाएमा चेकजाँच गर्ने अधिकारी (ट्राफिक)ले सवारी चालक अनुमतिपत्रको विवरण हेर्न तथा रूजु गर्ने प्रणालीबाट चेकजाँच गरिदिनु पर्नेछ । चालकले राष्ट्रिय परिचय नम्बर भनेमा पनि चेकजाँच गर्नुपर्ने समझदारीमा उल्लेख छ ।