Logo

घिन्ताङघिसी नाचसँगै भक्तपुरमा आठदिने गाईजात्रा सुरू



भक्तपुर,भदौ ४ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु भएको मानिन्छ ।

सोमबार तलेजुको पूजागरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुआत गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । गाईजात्रा पर्वका अवसरमा भक्तपुर जिल्लाभरि नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङघिसी नाच प्रदर्शन गर्दै गाइजात्रा मनाइएको छ ।

दिवङ्गत व्यक्तिको सम्झनामा आज नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको संस्कृतिविद् बिन्दा जोशीले जानकारी दिइन् । आज गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ ।

यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता