भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने भन्दै काठमाडौमा युवाहरुको प्रदर्शन
काठमाण्डौं,भदौ १ । भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग राखी काठमाडौँमा युवाहरूले प्रदर्शन गरिएको छ । विरोध प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनरत युवाबिच धकेलाधकेल भएको हो ।
प्रदर्शनका क्रममा युवाको समूह र प्रहरीबिच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भइरहेको छ । विधेयकमा रहेको ‘मुद्दा चलाउने अवधि: भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने’ प्रावधानमा सत्ताधारी दलहरूबिच नै गहिरो मतभेद देखिएको छ ।
यस्तै ‘सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले निज त्यस्तो पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र त्यस्तो विषयमा यस ऐन बमोजिम तत्काल कारबाही हुने सक्नेछ भने निजले जुनसुकै ब्यहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाश भएको मितिले पाँच वर्षभित्र निज उपर यस ऐन बमोजिम कारबाही गर्न र मुद्दा चलाउन बाधा पर्ने छैन’ भन्ने विधेयकको प्रावधान पनि दलहरूबिच मत बाझिएको छ ।
भ्रष्टाचार जस्तो जघन्य अपराधको हदम्यादले भ्रष्टाचारीलाई थप प्रोत्साहन मिल्ने तथा मुलुकको सुशासनलाई नै चुनौती दिने भन्दै सर्वत्र विरोध भएको छ ।