प्रचण्डको परिवारवाद बिरुद्ध उपमहासचिव जनार्दन शर्माको फरक प्रस्ताव
काठमाण्डौं,साउन २७ । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले फरक प्रस्ताव पेश गरेका छन् । उनले पार्टीको मूल नेतृत्वबाट अध्यक्ष प्रचण्डलाई विस्थापन गर्नुपर्ने तर सत्ताको नेतृत्व भने प्रचण्डले नै गर्न सक्ने मत अघि सारेका छन् । ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पृष्ठ लामो प्रस्ताव पेस गरेका छन् भने पार्टी फुटबाल चलेका हल्लाका सम्बन्धमा भन्दै थप २ पृष्ठको प्रस्ताव अघि सारेका हुन् । ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माले लेखेका छन् । त्यस्तै उनले थपेका छन्, ‘अध्यक्ष पचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने, हालका पदाधिकारीहरु सल्लाहाकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मुल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरुलाई कार्यकारी सांगठानिक नेतृत्व हस्तान्तरण गर्ने ।’
शर्माले पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको र कम्युनिस्ट मूल्यमान्यताअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुगेको आफ्नो निष्कर्ष सुनाएका छन् । ‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो,’ उनले भने । ‘पार्टीभित्र मुद्दा विशेषका कमीकमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइयो,’ उनले बैठकमा भने, ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔंभन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो । अझ थप दुरुत्साहन गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभास भयो ।’
प्रस्तावको पूर्ण पाठ