यस्तो छ आजको मौसम
काठमाण्डौं,साउन २७ । आज दिउँसो मधेसबाहेक छ वटा प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मौसम आशिंकदेखि पूर्ण बदली भएर धेरै ठाउँमा पानी पर्ने र मधेसबाहेकका सबै प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेस प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानमै रहे पनि भारतको उत्तर प्रदेशमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा धेरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज रातिपनि कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । महाशाखाले आउँदो तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन भनेको छ ।
यसैबीच बाढी पूर्वानुमान् महाशाखाले सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली नदी तथा ती नदीका सहायक नदीका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने जनाएको छ । ति नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।