Logo

वाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्रीसहित ७, एमालेलाई ६



मकवानपुर,साउन ८ । नेपाली कांग्रेस–नेकपा एमालेबीच वाग्मती प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । कांग्रेसले ७ र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने गरी सहमति भएको हो । सहमतिअनुसार एमालेले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा प्राप्त गरेको ५ वटा र समाजवादीले सम्हालेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।

कांग्रेसले माओवादीले प्राप्त गरेको ३ वटा, समाजवादीले लिएको २ वटा र हाम्रो नेपाली पार्टीको नेतृत्वमा रहेको एउटा मन्त्रालयको जिम्मेवारी लिने भएको छ ।
कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएको हो ।

एमालेले आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, वन तथा वातावरण, स्वास्थ्य, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने भएको हो ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दुई दलबीच सहमति भइसकेको बताए । ‘हामीबीच कसले कुन मन्त्रालय लिने विषयमा सहमति भइसकेको छ । एमाले संसदीय दलका नेता काठमाडौंबाट आउँदै भएका कारण हामी कुरिरहेका छौं,’ उनले भने । लामाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्नुअगाडि सबै विषय टुंगिने बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता