Logo

भीमेश्वर मन्दिरको शिलामा पसिना आयो



दोलखा,साउन ५ । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आएको बताए ।

शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको उनले जानकारी दिए । भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका श्रेष्ठले बताए ।

भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ । शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविश्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ । जसका लागि राष्ट्रपतिबाट हुने क्षमापूजाका विषयमा छलफल भइरहेको छ ।

‘पसिना’ पुछेको कपास राष्ट्र प्रमुख र सर्वसाधारणमा बाँड्ने चलन छ । उक्त कपासलाई खाममा हालेर राष्ट्रपतिकोमा पुर्‍याउने चलन छ । राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । विक्रम संवत् १९९०, २००७, २०२८ र २०७० र २०७७ सालमा पनि भीमेश्वरको शिलामा ‘पसिना’ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता