Logo

प्रधानमन्त्रीको निर्देशन कुलमानद्वारा अवज्ञाः लाइन जोडिदिने लिखित पत्र उर्जा मन्त्रालय वा मन्त्रिपरिषद् बैठकबाटै आउनु पर्ने अड्डी



काठमाण्डौं,साउन ५ । प्रधानमन्त्रीले कुनै पनि हालतमा उद्योगमा शुक्रवार नै लाइन जोडिदिन निर्देशन दिएपछि प्राधिकरणको सञ्चालक समिति अध्यक्ष हुने उर्जामन्त्री दिपक खड्काले साँझै बोर्ड बैठक राखे । तर, सो बैठकमा घिसिङले पुनः लाइन जोडिदिने लिखित पत्र उर्जा मन्त्रालय वा मन्त्रिपरिषद् बैठकबाटै आउनुपर्ने अड्डी राख्दै लाइन जोड्ने निर्णय हुनै दिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन अवज्ञा गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएको ६ उद्योगको लाइन जोड्न अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रवार अपराह्न ऊर्जामन्त्री दिपक खड्का एवम् उद्योगमन्त्री दामोदर भण्डारीसहित प्राधिकरणका पदाधिकारी र उद्योगीहरूसँग छलफल गरी कुनै पनि हालतमा काटिएको लाइन शुक्रवार नै जोडिदिन निर्देशन दिएका थिए । सोही बैठकमा घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताएपछि प्रधानमन्त्रीले आजै बोर्ड बैठक राख्न भनेका थिए ।

प्रधानमन्त्रीसँगको बैठकमै बोर्ड अध्यक्ष उर्जार्जामन्त्री, सदस्य उर्जासचिव तथा कार्यकारी निर्देशक घिसिङसहित ३ जना उपस्थित नै रहेको र थप दुई बोर्ड सदस्यलाई समेत बोलाएर बैठक बस्न र लाइन जोडिदिन प्रधानमन्त्रीले कडा निर्देशन दिएका थिए । सोअनुसार अध्यक्ष तथा उर्जामन्त्री दिपक खड्काले बोर्ड बैठक राखे । तर, सो बैठकमा घिसिङले पुनः लाइन जोडिदिने निर्देशन उर्जा मन्त्रालयबाटै आउनुपर्ने अड्डी राख्दै सो निर्णय हुनै नदिएको बोर्ड स्रोतले बतायो ।

बोर्ड बैठकमा केही घन्टाअगाडि नै प्रस्ताव जानुपर्ने व्यवस्था भएको र उर्जा मन्त्रालयबाट पनि केही कागजात चाहिने भएपछि लाइन जोडिदिने विषयमा केही निर्णय नभएको उर्जामन्त्री खड्काले भने । ‘प्राधिकरणको बोर्डबाट निर्णय हुने प्रकृया पनि पूरा नहुने देखियो । शुक्रवार उर्जा मन्त्रालयबाट पत्र बनाउन कर्मचारी पनि मन्त्रालयमा थिएनन् । त्यसो हुँदा निर्णय गर्न सकिएन,’ मन्त्री खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता