Logo

एसिसी महिला एसिया कप आजदेखि



काठमाण्डौं,साउन ४ । नवौँ संस्करणको एसिसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलंकाको डाम्बुलामा हुँदै छ । तेस्रोपटक सहभागी भइरहेको नेपाली टोलीले पहिलो दिन नै युएईविरुद्ध खेल्दै छ । नेपालले सन् २०२१ मा अन्तिमपटक युएईविरुद्ध खेलेको थियो, जसमा ४८ रनले पराजित भएको थियो ।

नेपाल रहेको समूह ‘ए’मा विश्व क्रिकेटकै बलियो राष्ट्र भारत र पाकिस्तान रहेका छन् । आइसिसी वरीयतामा भारत तेस्रो, पाकिस्तान आठौँ, युएई १६औँ र नेपाल २१औँ स्थानमा छन् । १३ साउनसम्म चल्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । नेपालले भारत र पाकिस्तानसँग सन् २०१६ को संस्करणमा पनि प्रतिस्पर्धा गरेको थियो । यसअघिको दुई संस्करणमा नेपाल जितविहीन छ ।

यसपटक नेपालले समूहमा कडा चुनौती दिने योजना बनाएको छ । प्रतियोगितामा सहभागी हुन जानुअघि नेपालकी कप्तान इन्दु बर्माले समूह चरण पार गर्ने लक्ष्य राखेको बताएकी थिइन् । ‘यसपटक तयारी राम्रो छ । कम्तीमा समूह चरण पार गर्ने योजना छ,’ उनले भनेकी थिइन् । उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेको नेपाली टोली तयारीका लागि एक साताअघि नै श्रीलंका पुगेको थियो । त्यहाँ टोलीले स्थानीय क्लबसँग अभ्यास खेल खेल्यो ।

मिश्रित नतिजा निकालेको नेपाली खेलाडीले ब्याटिङ र बलिङमा अभ्यास गर्ने अवसर पाएका छन् । मनोज कटवालको प्रशिक्षणमा रहेको नेपालको मुख्य समस्या ब्याटिङमा देखिन्छ । पाकिस्तान र भारतविरुद्ध नेपालले ब्याटिङमा सुधार गर्नुपर्छ । नेपालको टोली युवा तथा अनुभवी छ । यसपटक छनोट भएका खेलाडीले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । टोलीमा डेब्यु गर्ने खेलाडी छैनन् । सिनियर खेलाडीसँग यसअघिका एसिया कप खेलेको अनुभव छ । केही खेलाडीको एसिया कप पहिलो भए पनि उनीहरूसँग अन्तर्राष्ट्रिय खेलको अनुभव छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता