Logo

गृहमन्त्री फेरिए सँगै फेरीदैं यी प्रहरी प्रमुखहरु



काठमाण्डौं,साउन ३ । सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई चार महिनामै हटाउने तयारी गरेको छ। निवर्तमान गृहमन्त्री रवि लामिछानेको रोजाइमा सीआईबी प्रमुखको जिम्मा पाएका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई त्यहाँबाट सरुवा गर्ने तयारी भएको हो।

नक्कली भुटानी शरणार्थीको मुद्दा अगाडि बढाउन र अनुसन्धान गर्न आफैँ खटिएका ज्ञवालीलाई सत्ता घटक नेपाली कांग्रेस र नेकपा एमालेले नै रुचाएका छैनन्। उपत्यका प्रहरी कार्यालय प्रमुख भएर काम गर्दा पनि उनलाई साढे चार महिनामै हटाइएको थियो।

उपत्यका प्रहरी कार्यालयबाट सरुवा गरेर ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा लगिएको थियो। नेपाली कांग्रेस सत्तामा हुन्जेल कार्य विभागमै रहेका ज्ञवालीलाई रवि लामिछाने गृहमन्त्री भएपछि सीआईबी प्रमुखको जिम्मेवारी दिइएको थियो।

सीआईबीले लामिछाने मुछिएका सहकारी ठगीका फाइल झिकाएर अनुसन्धान गरिरहेको थियो। आफूमाथि अनुसन्धान गर्ने एआईजी किरण बज्राचार्यलाई त्यहाँबाट हटाएर ज्ञवालीलाई गत चैतमा सीआईबी प्रमुखको जिम्मा दिइएको थियो।

तर उनले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान रोकेको भन्दै कांग्रेसले यसअघि चर्को आलोचना गर्दै आएको थियो। हालका गृहमन्त्री लेखकले नै त्यसको नेतृत्व गरेका थिए।

यस्तै काठमाडौँ उपत्यका प्रमुखको पनि सरुवा गर्न गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन्। उपत्यका प्रहरी प्रमुख रहेका एआईजी दीपक थापा ११ महिनादेखि यहाँ कार्यरत छन्।

अन्य एआईजीलाई दुईपटक सरुवा गर्दा पनि यसअघिको सरकारले थापालाई भने उपत्यका प्रहरी कार्यालय रानीपोखरीमै निरन्तरता दिइरहेको थियो। तर उनको सरुवा अवधि भएकाले सीआईबी प्रमुखसँगै सरुवा गर्न लागिएको स्रोतको दाबी छ।

‘एकजनालाई मात्रै सरुवा गर्दा राम्रो म्यासेज जाँदैन। त्यही भएर कम्तीमा ५ एआईजीलाई सरुवा गर्ने कुरा अगाडि बढेको छ। एउटा रिक्त एआईजीमा पनि बढुवा गर्न बाँकी छ। केही समय लिएर बढुवा पनि गर्ने र जिम्मेवारी पनि हेरफेर गर्ने हुनसक्छ,’ स्रोतले भन्यो, ‘यही हिसाबले कुरा अगाडि बढेको छ। गृहमन्त्रीज्यू भर्खरै आउनु भएको छ। धेरै हतार पनि गर्नु भएन।’

काठमाडौं उपत्यका कार्यालय प्रमुखमा कसलाई पठाउने भन्ने अन्यौल छ। वसन्त कुँवर प्रहरी महानिरीक्षक भएपछि सुरुमा ज्ञवाली र त्यसपछि थापाले जिम्मेवारी पाएका थिए। तर आईजीपी कुँवरकै ब्याची एआईजीहरुले पनि उपत्यका प्रहरी कार्यालय आउन चाहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता