Logo

दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र



काठमाडौं, असार २७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गर्नु भएको छ ।

राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा भएको दशौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार भएको बैठकमा उक्त प्रस्ताव गरिएको हो । सदस्य–सचिव घिसिङले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गर्नु भयो ।

राखेपले ददशौं राष्ट्रिय खेलकुद आगामी मंसिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ गतेदेखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको छ । महिला फुटबल, उसु, पुरुष/महिला बास्केटबल, जुडो, पुरुष/महिला हक्की र तेक्वान्दो खेललाई दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । निर्णायक संख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।

बैठकमा सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराउनु हुँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताउनु भयो । उहाँले बृहत राष्ट्रिय खेलकुद देशकै ओलम्पिक खेलकुदका रुपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताउदै दशौं राष्ट्रिय खेलकुदलाई सफलतापूवर्क सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनु पर्नेमा जोड दिनु भयो ।

सदस्य–सचिव घिसिङले दशौं राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउनु हुँदै खेलकुदलाई व्यवसायिक बनाउनु पर्ने आवश्यकता औल्याउनु भयो । उहाँले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराउनु हुँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको बताउनु भयो ।

सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार दशौं राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालमा पहिलोपटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताउनु हुँदै प्रस्ताव गरिएका बुदाँमा यथशीघ्र सुझाव उपलब्ध गराउन आग्रह गर्नु भयो ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरान खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताउनु हुँदै तोकिएकै समयमा दसौं राष्ट्रिय खेलकुद गर्नुको विकल्प नरहेको बताउनु   भयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको ५ जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउनु हुँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउनु गर्नु पर्ने बताउनु भयो ।

बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्य–सचिवहरुले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनु पर्ने, एक खेलमा कम्तीमा ५ टिम सहभागी हुनु पर्ने, बजेट समयमा निकासा हुनु पर्नेलगायतका विषयमा धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता