Logo

रास्वपा ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गर्‍यो



काठमाण्डौं,असार २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।

ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय भएको छ,’ पत्रमा भनिएको छ ।

बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।

महामन्त्री ढकाललाई कारबाहीसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ । त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको रास्वपाले जनाएको छ ।

महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए । विशेष गरी महामन्त्री ढकालले एक महिने देश दौडाहपछि तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएपछि विवाद सतहमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता