Logo

मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल लाई निम्तो



काठमाण्डौं,जेठ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘उक्त समारोहमा जानका लागि आवश्यक टोली निर्माण हुनेछ,’ उनले भनिन्।

मोदीको शपथ आइतबार दिल्लीमा हुँदैछ।

बुधबार साँझ भएको फोनवार्तामा मोदीले शपथ ग्रहणका बेला उपस्थित हुन प्रधानमन्त्रीलाई निम्तो गरेका थिए।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका थिए।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए। प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन्।

‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो। उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं,’ प्रधानमन्त्री मोदीले भनेका थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता