Logo

महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो



काठमाडौं,जेठ २४ । नेपाल पत्रकार महासंघमा पछिल्लो समय पूरा भाडभैलो मच्चिएको छ । महासचिव रोशन पुरीले आफू आगामी अध्यक्षमा जित्ने गरी जिल्ला जिल्लामा पत्रकारै नभएका माओवादी कार्यकर्ताहरुलाई सदस्य बनाएका छन् । जिल्ला शाखा र प्रदेश समितिले सिफारिस नै नगरेका मानिसहरु जो पत्रकारितामै छैनन् त्यस्तलाई प्रत्येक जिल्लामा रोशन पूरीले थपेका छन् । त्यस कारण सदस्यता विवाद टुंङ्गिन मुश्किल परेको छ ।

महासंघका एकजना पदाधिकारीले सदस्यता शुद्धिकरणको जिम्मेवारी लिएका महासचिव नै गैर पत्रकारहरुको हुललाई महासंघमा छिराउने प्रपञ्च रचेपछि सिंगो केन्द्रीय समिति त्यस विरुद्ध खनिएको छ । माओवादीको भातृ संगठन प्रेस सेन्टर बाहेक प्रेस युनियन, प्रेस चौतारी, प्रेस मञ्च, समाजवादी प्रेस जस्ता सबै संघ संस्थाले महासचिवले तयार पारेको लिस्टलाई नस्विकार्ने भनिसकेका छन् । पुरी यस पटक अध्यक्षमा उठ्ने तयारी गरेका छन् । सेन्टरले उनलाई सार्ने पक्का पक्की छ । प्रेस युनियनका तर्फबाट रमेश विष्ट बलियो उम्मेदवारका रूपमा छन् । युनियन भित्र उनले अर्को प्रतिस्पर्धी नै छैन । केन्द्रीय सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षसम्मको अनुभवले उनका अगाडि पुरी धेरै कमजोर उम्मेदवार छन् । विष्ट देशैभर चनिएका र काठमाडौंमा राम्रो भोट पकड भएको व्यक्ति हुन् । उनले चौतारी, सेन्टर र राजावादीको भोट तान्न सक्छन् । पार्टीमा शेरबहादुर देउवासँगको सम्बन्धका कारण युनियनले जसरी पनि उनलाई नै उम्मेदवार बनाउने देखिएको छ । विष्टलाई बलियो उम्मेदवारका रूपमा देखेपछि सेन्टर तर्सिएको छ । गोविन्द आचार्यपछि दोस्रो अध्यक्ष बनाउने पालो कुरेर बसेको सेन्टरले पुरी मार्फत सदस्यतामा खेलेको छ ।

विष्टलाई टक्कर दिने उद्देश्यले सेन्टरले गरेको ग्रान्ड डिजाइन अनुसार पुरीले काम गरेका छन् । हरेक जिल्लामा शाखाको निर्वाचन समिकरणलाई समेत प्रभावित पार्ने गरी माओवादी कार्यकर्तालाई महासंघको सदस्य बनाएका छन् ।

महासंघका एकजना पदाधिकारीका अनुसार प्रदेशले गत वर्ष भदौमै बुझाएको सदस्यता नामावलीलाई पुरीले महिनौसम्म लुकाएर राखे । कुनै पदाधिकारी वा संगठन समितिमा पनि छलफल गर्न ल्याएनन् । गोप्य रूपमा उनले शुद्धिकरणको काम गर्दै होलान भनेको त युनियन र चौतारीका सदस्यलाई शुद्धिकरणका नाममा काट्ने र आफ्नो थप्ने गरेका रहेछन् । सेन्टरबाट विगतमा गोविन्द आचार्य उपाध्यक्ष भएकै बेलादेखि माओावदी कार्यकर्तालाई हुलका हुल सदस्यता दिने क्रम सुरु भएको त्यतिबेलाकै पदाधिकारी बताउँछन् । त्यसपछि सेन्टरबाट ओम शर्मा र उजिर मगर महासचिव हुँदा पनि त्यो क्रम बढाइयो ।

अघिल्लो कार्यकालमा त्यतिबेलाका महासचिव रमेश विष्टले भने सदस्यतामा माओवादीको चल्न दिएनन् । त्यतिबेलाका अध्यक्ष गोविन्द आचार्यको हस्तक्षेपलाई समेत अस्विकार गरेर विष्टले सदस्यतामा सन्तुलित काम गरेकैले पहिलो पटक प्रत्यक्ष चुनावव हुँदा पनि कुनै प्रकारको समस्या उत्पन्न भएन । उतिबेला केन्द्रीय सदस्य र अहिलेका एकजना पदाधिकारीले त्यस कारणपनि निर्वाचनको परिणाम युनियनको पक्षमा आएको दावी गर्छन । अहिले त बिजोग बनाएका छन् ।

अध्यक्ष विपुल पोखरेल रबर स्टाम्प छन् । महासचिवले उनलाई घुमाएको जे भनेपनि हस्ताक्षर गरिदिने उनको व्यवहारले थप समस्या देखिएको उनै पदाधिकारीले बताए । पुरीले गरे अनुसारको सदस्यता नै स्विकृत भए सेन्टर एक नम्बरको स्थितिमा पुग्ने छ । उसको बार्गेनिङ पावर बड्छ । चौतारीसँगको समबन्ध टाडिएका बेला पुरी र उनको टिमले चौतारीको सदस्यमाथि धेरै कैची चलाएका छन् । उनले चौतारीलाई कमजोर बनाउने, युनियनलाई पनि घटाउने र युनियनसँग गठबन्धन गरेर अध्यक्ष लिने उता चौतारी पनि कमजोर भएको मौकमा जित्ने दाउ लिएका थिए । तर, राजनीतिक समिकरण फेरिएपछि उनलाई अप्ठ्यारो छ । चौतारीले अध्यक्ष नछोड्ने स्थितिमा पुरीको योजना फेल हुने भएपछि उनले विवाद समाधान तर्फ प्रयत्न नै गरेका छैनन ।

महाधिवेशनमा जेठ २६ गते निर्वाचन गराउने मिति उनैले प्रस्ताव गरेर तोकाएका थिए । त्यसले महासंघमा वैधानिक संकट समेत निम्तिएको छ । २६ गते चुनाव हुन गइरहेको छैन । महाधिवेशनले तोकेको मितिलाई कस्ले रद्द गर्ने वा त्यसलाई कसरी सार्ने ठूलो वैधानिक दुविधा छ । वैधानिक संकट देखाएर सरकारबाट महासंघमा तदर्थ समिति घोषणा गराउने दाउपनि सेन्टरले रचि रहेको छ ।

वरिष्ठ उपाध्यक्ष विष्टको सल्लाहमा महासंघका केही पदाधिकारी र सदस्यहरु पुरीको योजना बुझेर त्यस विरुद्ध सजग छन् । तर, अध्यक्षलाई के को लोभ देखाइएको छ, थाह छैन । उनी त माओवादीले जे भनिरहेको छ, त्यतै लागेको महासंघमा युनियनका पदाधिकारीहरु कुरा काटिरहेका छन् । अब तोकिएको मितिमा चुनाव हुन नसकेपछि सदस्यता विवादलाई समय लिएर शाखा, प्रदेश र संगठन समितिको परामर्शबाट टुंग्याएर मात्रै चुनावमा जानुपर्ने आवाज युनियन र चौतारीले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता