Logo

सहकारी अपचलन प्रकरणमा विशेष संसदीय समिति गठन



काठमाण्डौं,जेठ १६ । सत्तासाझेदार दलहरूबीचको सहमतिअनुसार एमाले सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय समिति गठन गरेको छ । मंगलबारकै प्रतिनिधिसभा बैठकबाट समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ र सदस्यहरूको नाम अनुमोदन गरेको हो ।

समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिको चारबुँदे कार्यादेश र तीनमहिने समयावधि पनि तोकिएको छ । २९ सहकारी समितिको दायरामा छन् ।

संसदीय समितिको कार्यादेश(टिओआर) बनाउन गठित कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीका अनुसार मंगलबार बसेको कार्यदल बैठकमा चार कार्यादेश र तीन महिनाको समयावधि रहने गरी समिति गठनको सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्रीको नाम राख्ने–नराख्ने विषयमा लामो विवाद हुँदा कार्यादेशमा सहमति जुट्न सकेको थिएन ।

मंगलबार कार्यदल बैठकमा कांग्रेस गृहमन्त्री लामिछानेको संलग्नता देखिएको भनिएका सहकारीको नाम र गोर्खा मिडिया नेटवर्कमा अपचलनमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने भन्ने शब्द राखेर लामिछानेमाथिसमेत छानबिन गर्न सक्ने गरी समिति बनाउन तयार भएसँगै सहमति भएको थियो ।

‘प्रमुख विपक्षी दल कांग्रेस र अन्य विपक्षी दलका प्रतिनिधिसभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा उठाउनुभएका मुद्दा र कानुनविपरीत बचतकर्ताहरूको बचत दुरुपयोग भएको भनी संसदीय छानबिन समितिको माग हुँदै आएको विषयमा अध्ययन गर्न प्रतिनिधिसभा नियमावली, २०७९ कोे नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको छ,’ सहमतिपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता