Logo

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ भेटियो



काठमाण्डौं,जेठ ११ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक उच्च अधिकारीले बताए । ‘संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत ‘केपी.२’ बढी फैलिरहेको देखिएको छ,’ स्रोतले भन्यो, ‘ उक्त तथ्याकले समुदाय स्तरमै फैलिरहेको पुष्टि गर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्य भेरियन्टभन्दा केपी.२ छिटो फैलिएको पाइएको बताउँछन् ।

‘केही महिना अगाडी युरोपेली देशमा संक्रमण बढ्नुमा ‘केपी.२’ रहेको पाइएको छ,’ डा. पुनले भने, ‘ नेपालमा पनि पुष्टि भएसँगै संक्रमण बढाउनसक्ने आंकलन गर्न सकिन्छ ।’

उनका अनुसार ‘केपी.१’ र ‘केपी.२’ ले कारण मानिस कति जोखिममा पर्छन् भन्ने पत्ता लागिसकेको छैन ।

विज्ञका अनुसार अन्य देशमा फैलिरहेको अवस्थालाई हेर्दा कोरोनाको लक्षण खासै अन्य भेरियन्टको तुलनामा फरक छैन । नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता