स्वदेश फर्किए फुटबल टोली

लन्डन । नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
इंग्ल्यान्ड सीसँग मैत्रीपूर्ण खेल खेलेर ३० सदस्यीय टोली शुक्रबार राति नेपाल फर्किएको हो । टोलीलाई बिदाइ गर्न नेपाली समुदायका अभियन्ताहरु एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमु धीं युकेका उपाध्यक्ष कमल कोने गुरुङ, सहारा युकेका पूर्वअध्यक्ष कुमार गुरुङ, बगर भाइखलक युकेका अध्यक्ष दिलरास गुरुङ, तमु धीं युकेका सचिव विमल गुरुङ, व्यवसायी रविन्द्रजंग लामिछाने लगायत विमानस्थल पुगेका थिए । उनीहरुले खेल सफल पार्न सुरुदेखिनै खटिएका थिए ।
गत सोमबार अल्डरसट टाउन फुटबल क्लबको इबीबी रंगशालामा भएको खेलमा नेपाल इंग्ल्यान्ड सीसँग २ गोलले पराजित भएको थियो । टोलीलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको थियो भने गोर्खा प्यालेस रेस्टुरेन्टले लन्च तथा भेटघाट गराएको थियो ।
भ्रमणका क्रममा नेपाली टोलीले बेलायतका विभिन्न ठाउँको अवलोकन गरेको थियो ।