Logo

राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण



काठमाडौं, बैशाख २८ गते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ ।

फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्था बारे एएफसीले प्रारम्भिक अनुगमन पश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ ।

एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहति चार बुँदे विवरण माग गरेको थियो ।

एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दि स्टेडियमका विषयमा जानकारी माग गरेको थियो । सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययन पश्चात तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो ।

बिहीबार मात्रै संसदीय व्यवस्था समितिमा दशरथ रंगशालाको अवस्था बारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । त्यसको भोलिपल्ट नै राखेपले एन्फालाई विवरण दिएको छ ।

सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गर्नु भयो ।

आगामी दिनदेखि अन्तर्राष्ट्रिय महासंघहरुको पूर्वाधार मापदण्ड राखेपलाई समयमै उपलब्ध गराउन सदस्य–सचिव टंकलाल घिसिङले एन्फाको ध्याणाकर्षन गराउनु भएको छ ।

फिफा विश्व कप र एसियाली छनोटअन्तर्गत नेपालले युएइ विरुद्ध जेठ २४ गते दशरथ रंगशालामा ‘होम म्याच’ खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता