Logo

भीमबहादुरले पारालिम्पक छनोट खेल्ने



काठमाडौं, बैशाख २८ गते । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन् ।

पेरिस पारालिम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन् । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

दुवै स्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान पनि छ । ५० मिटरमा ३३.३४ सेकेन्ड तथा १०० मिटरमा १ मिनेट २१ सेकेन्डको भीमको व्यक्तिगत उत्कृष्ट टाइमिङनै राष्ट्रिय कीर्तिमान हो ।

सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले विगत २ महिनादेखि कालोपुलस्थित वेस्ट भेन्युमा नियमित प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । श्रेष्ठ पनि अफिसियलका रुपमा सिंगापुर जाँदै छन् ।

गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी भीमले आफ्नो करियरमा ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले खेलेको पछिल्लो प्रतियोगिता चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद हो । त्यसअघि उनले सन् २०१८ मा इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । ४१ वर्षीय कुमाल एम्पुटी फुटबलका पनि खेलाडी हुन् ।

भीमले पेरिस पारालिम्पिकमा छनोट हुने लक्ष्य रहेको बताउदै भने– ‘एउटा खेलाडीको मुख्य उद्देश्य ओलम्पिक खेल्नु रहेको हुन्छ । यो एउटा सुनौलो अवसर हो । सक्दो प्रयास गर्ने छु ।’

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । भीम र अफिसियल श्रेष्ठ मे १५ तारिख सिंगापुर जाने छन् । प्रशिक्षक विजेनमान श्रेष्ठ आइतबार जाँदै छन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले पेरिस पारालिम्पकमा छनोट हुने दोश्रो खेलाडी बन्न खेलाडीलाई शुभकामना दिए ।

‘पेरिस पारा ओलम्पिकमा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन छनोट भइ इतिहास रची सक्नु भएको छ । पलेशा पारालिम्पिकमा छनोट चरण पार गरी खेल्ने पहिलो नेपाली खेलाडी हुनु हुन्छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘अब पालो तपाईं (भीमबहादुर) को हो । राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नु होस् । शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता