Logo

उपाधि विजेता बास्केटबल टोली सम्मानित



काठमाण्डौं,बैशाख २८ । नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् ।

खेलाडी र प्रशिक्षकलाई जनही ३० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । उनीहरुलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको थियो । नेपालले फाइनलमा युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ ले पराजित गर्दै इतिहास रचेको थियो । नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाका अनुसार नेपाली बास्केटबलको इतिहासमै कुनैपनि टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो अवसर हो ।

प्रतियोगितामा नेपालसहित ७ राष्ट्र तथा चीनका ३२ गरी ३९ टोली सहभागी थिए । नेपालसहित चीनका ४ गरी ५ टिम समूह ‘एफ’ मा थिए । समूह चरणको सबै खेल जितेको नेपाल विजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको थियो । नेपालले प्रिक्वाटरफाइनलमा भियतनाम, क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन होङही र सेमिफाइनलमा थाइल्यान्डलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा नेपालका मनीष ‘मोस्ट भेलुएबल प्लेयर’ तथा सुशील उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता