२ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने मन्त्री परिषद्को निर्णय
काठमाडौं, बैशाख २८ । मन्त्री परिषद्को बिहीबारको बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालय मार्फत पेश गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै १९ औं एसियन गेम्स र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका हुन् । चौथो एसियाली पारा खेलकुद सकिए लगत्तै राखेपले एसियाली खेलकुद र एसियाली पारा खेलकुदको पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रस्ताव गरेको थियो ।
१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्ने छन् ।
एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्ने छन् । यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्ने छन् ।
यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।
आइसिसी मेन्स टि–ट्वान्टी वल्र्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्ने छन् ।
पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल सरकार र अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।