Logo

रङ्गशालाको स्तर सुधार गर्न ५ दिनभित्र प्रगति विवरण पेश गर्न मन्त्री श्रेष्ठ को निर्देशन



काठमाण्डौं,बैशाख २५ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न दिएको निर्देशनका विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार दास्रो पटक सम्बद्ध निकायहरूबिच छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठले मंगलबारमा साझ दशरथ रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतका पदाधिकारीसँग छलफल गरी ५ दिनभित्र दशरथ रङ्गशालाको स्तर सुधारमा गरिएको प्रगति विवरण कडा निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले विश्व छनौट फुटबलको अर्को खेल नेपालमै गराउने वातावरण बनाउन पनि निर्देशन दिएका छन् । यसअघि मंगलबार बिहान मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन रुपमा टुङ्गिएको थियो ।

दशरथ रङ्गशालाको रेखदेख हाल राखेपले आफ्नै अधीनमा लिएको छ । फिफा र एएफसीले दशरथ रङ्गशालाको स्तर सुधार गर्न एन्फासँग पत्राचार गरेको थियो । दशरथ रङ्गशालामा दर्शक र खेलाडीको सुरक्षा, फ्लड लाइटजस्ता विषयमा प्रश्न उठाएपछि यस विषयमा एन्फाले राखेप र युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको थियो ।

फिफा र एएफसीले दशरथ रङ्गशाला निकै पुरानो भएकाले खेलका क्रममा दर्शकको सुरक्षाको विषयमा प्रश्न उठाएको हो । ‘फ्लड लाइट’ को विषयमा पनि प्रश्न गरिएको छ । दशरथ रङ्गशालामा रात्रिकालीन खेलका लागि जडान गरिएको ‘फ्लड लाइट’ को प्रकाश (उज्यालो) पर्याप्त नहरेको गुनासो आएपछि फिफा र एएफसीले यसप्रति चासो देखाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता