Logo

ऋतिक र अभिलाषालाई स्वर्ण



काठमाडौं,बैशाख १५ । ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ऋतिक र अभिलाषाको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे ।

पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले भेट्रानमा दोहोरो स्वर्ण जिते । जितेन्द्रले पुरुष ३५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् । सिंगल्सको फाइनलमा जितेन्द्रले सन्तोष खत्रीलाई ३–६, ६–३ र १०–३ को सेटमा हराए । जितेन्द्रले इलम दिक्षितसंग मिलेर अनिल साइ र सिमान्त गुरुङको जोडीलाई ३–६, ७–५ र १०–७ को सेटमा डबल्सको फाइनलमा पाखा लगाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो बने । उनले फाइनलमा कर्मा घलेको चुनौती ६–० र ६–१ ले समाप्त पारे ।

भेट्रानमै विमलकुमार गुरुङले पनि दोहोरो स्वर्ण चुमे । ५५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा विमलले बाजी मारे । उनले फाइनलमा प्रदीपबहादुर शाहमाथि ६–२ र ६–१ को जित दर्ता गरे । उक्त स्पर्धाको डबल्समा विमल र हिमाल शाहको जोडीले कमल थापा र छ्याम्बा धुन्डुपको जोडीलाई फाइनलमा ६–१ र ७–५ को सेटमा पराजित गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई सीधा सेटमा ६–२ र ६–२ ले पाखा लगाए । सो स्पर्धाको डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडी च्याम्पियन भए । उक्त जोडीले फाइनलमा महेश श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–१ र ६–४ को सोझो सेटमा पन्छाए ।
प्रतियोगिताको अन्तिम दिन पुरुष÷महिलाको सिंगल्स फाइनल हुनेछ । पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर उपाधिका लागि भिड्ने । अभिलाषा विष्ट र सुनिरा थापाबीच महिला सिंगल्स उपाधि भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता