Logo

कतारका अमिर शेख तमिम बिन हमाद अलथानी आज नेपाल आउँदै



काठमाण्डौ,बैशाख ११ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ । उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ । कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् । भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।

उनी बुधबार स्वदेश फर्किनेछन् । बुधबार अमिर थानी फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ । त्यस्तै दुई दिने भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७५ मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो । विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल भ्रमणका बेला पनि यही तहको सुरक्षा प्रबन्ध मिलाइएको थियो । यसअनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पार्श्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ ।

बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ । आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन् ।

प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिनेछ ।

यसका अतिरिक्त नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वयमा छुट्टै सुरक्षा टोली पनि खटाउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नपाल आउन लागेका विदेशी विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सैनिक मुख्यालय जंगीअड्डाको अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमार्फत पूर्वतयारी र रिहलसल पनि गरिएको थियो ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख एवं प्रवक्ता सहायक रथी गौरव कुमार केसीले कतारी राजाको सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने जानकारी दिए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बासस्थान र सवारी रुटको सुरक्षाको लिड नेपाली सेनाले गर्नेछ,’ केसीले भने, ‘अतिविशिष्ट सुरक्षा सम्बन्धी कार्यविधि छ, त्यसैअनुसार प्रबन्ध मिलाइएको छ ।’
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाले पहिलो सुरक्षा घेरामा नेपाली सेना र बाहिरी घेरामा नेपाल प्रहरीसहितको अन्य सुरक्षा टोली रहने जानकारी दिए ।

उनका अनुसार कतारका राजा काठमाडौं ओर्लिनुअघि त्रिभुवन विमानस्थल र होटेल र सवारी रुटमा तालिमप्राप्त ‘स्निफिङ डग’ जाँच गर्नेछ । ट्राफिक प्रहरीले सवारी आवागमनको व्यवस्था मिलाउने छ । सरकारले आज सार्वजनिक विदा दिएकाले सवारी चाप कम हुने अपेक्षा प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता