Logo

भारतसँगको सम्बन्ध बिगार्न अर्ति दिने चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्नुपर्छ : लोसपा नेता कर्ण



काठमाडौं, २० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री लक्ष्मणलाल कर्णले पुष्पकमल दाहाल प्रचण्डको सरकार विभिन्न दलको दयामायामा बनेकाले कमजोर भएको टिप्पणी गरेका छन् ।
‘अहिलेको गठबन्धन सरकार विभिन्न दलको दयामाया र सहयोगमा बनेको छ । योसित बहुमत भए पनि कमजोर सरकार हो । आर्थिक अवस्था पनि जटिल छ । देशको

अवस्था राम्रो देखिँदैन । विभिन्न किसिमका झमेलालाई सम्हालेर गएन भने सरकार तत्कालै अप्ठ्यारोमा पर्न सक्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता कर्णले चिनियाँ राजदूतले आफ्नो धारणा नेपाल र भारत सम्बन्धमा जोड्नु गलत भएको बताए । उनले भने, ‘नेपाल र भारतको सम्बन्ध निकै पुरानो छ । यो अलौकिक र विशेष हो । हामीबीच खुला बोर्डर छ । बिना पासपोर्ट आवतजावत गर्न सकिन्छ । भारतले नेपाललाई जहिले पनि सहयोग गरेको छ । नेपालको भारत र चीनसँगको सम्बन्ध हेर्ने हो भने जमिन र आसमानको फरक छ । चिनियाँ राजदूतको प्रतिक्रियाले हामीलाई केही फरक पर्दैन । कुन देशसँग कति निकट हुने, कति टाढा हुने लेखाजोखा नेपालले गर्ने हो ।’

नेपाल र चीनको दूरी र भौगोलिक विकटताका कारण चीनमा बिजुली लान ल्याउन समस्या हुने उनले औंल्याए । उनले भने, ‘चीनलाई हामीले बिजुली बेच्न त के, बाटो ल्याउन पनि गाह्रो छ । बिजुली सलाईको बक्सामा भरेर लाने हो र ? विगतमा हामीलाई बाटो र तेल ल्याउन कति गाह्रो भो ? हामीले बिर्सेका छौं र ?’
नेपालको ऊर्जा बाहिर पठाउन एकमात्र बाटो भारत भएको उनको जिकिर छ । कर्णले भने, ‘हामीले विगतमा १८ घण्टासम्म लोडसेडिङ बेहोरेका हौं । भारतबाट बिजुली लिएर समाप्त गर्ने स्थितिमा छौं । प्रचण्डजीको भारत भ्रमणपछि सम्झीबुझी राम्रो सम्बन्ध भएको छ । देशलाई फाइदा हुने सम्झौता भएको छ । त्यसैले यसमा अरुको अर्तिले काम लाग्दैन । अरु देशसँगको सम्बन्ध बिगार्ने अभिव्यक्ति दिने चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्नुपर्छ ।’

वामदेव गौतमले त संघीयता खारेज गर्नुपर्ने अभिव्यक्ति दिनुभएको छ नि भन्ने प्रश्नमा कर्णले भने, ‘वामदेवको इच्छाले आएको हो र संघीयता ? मधेसी र जनजातिको बलिदानबाट आएको हो ।  नागरिकको रगतबाट आएको हो । अहिले संघीयता दिए पनि डराई डराई अधिकार दिएको छ, दिएको अधिकार पनि प्रयोग गर्न दिएको छैन । काम गर्न नदिने अनि सरापेर हुन्छ ? संघीयता कमजोर छ तर यसलाई उल्टाएर जाने अवस्था छैन ।’ अहिले सरकार बदल्ने खेलले राजनीतिक बदनामी हुने पनि उनले औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता