Logo

बालकृष्ण खाँडको विषयलाई लिएर गृहमन्त्री हटाउनु जरुरी छैन : माओवादी नेता



काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनालले जनतासँग आफ्नो पार्टीको सम्बन्ध टुटेको नभई त्यसलाई सदृढ गर्न तीन महिने अभियान चलाएको दाबी गरेका छन् ।

‘मंसिरको आम निर्वाचनमा माओवादी पहिलो र दोस्रो पार्टीसँग ठूलो ग्यापसहित तेस्रो पार्टी भयो । त्यसकारण हाम्रो पार्टीका तर्फबाट सामान्य कमजोरी भएनन् भन्दैनौं । त्यसमा विमति छैन । तर माओवादी हिजो पनि जनतासँगै थियो र अहिले पनि जनतासँगै छ । हामीले तीन महिने अभियानमार्फत जनतासँगको सम्बन्ध सुदृढ गर्न खोजेका हौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

अरु पार्टीका तुलनामा आफ्नो पार्टी कम भ्रष्ट भएको दाबी पनि खनालले गरे । उनले थपे, ‘माओवादीलाई अरु पार्टीसँग तुलना गर्न मिल्दैन । भ्रष्टाचारमा अन्य पार्टीको रुपमा तुलनात्मक रुपमा कम मुछिएको छ । तर सुन तस्करीमा जुन जुन नाम मुछिएको छ, त्यसमा कारबाही गर्नुपर्छ । हामी नयाँ तरिकाद्वारा पुरानो विश्वास कायम गर्न चाहन्छौं ।’ युवापंक्तिलाई माओवादीमा आकर्षित गर्न सरकार र पार्टी दुवै लाग्नुपर्ने उनले औंल्याए ।

अर्को प्रसंगमा उनले कोशी प्रदेशमा सकेसम्म सहमति खोज्ने नभए मध्यावधिमा जानुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘कोशीमा नामकरणदेखिको विवाद छ । सकेसम्म मध्यावधिमा नगईकन समाधान निकाल्दा राम्रो हुन्छ । अन्तिम विकल्प मध्यावधि नै हो ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको परिवर्तनको प्रस्ताव राखेको आफूलाई जानकारी नभएको पनि उनले बताए । खनालले भने, ‘गृहमन्त्रीको आलोचना नै गर्नुहुन्न भन्ने होइन । गठबन्धन दलहरुलाई कहाँ अप्ठ्यारो पर् यो, त्यो गृहमन्त्रीले बुझ्नुपर्छ । गृहमन्त्रीले जनचाहना अनुसार काम गर्नुभएको छ । तर बालकृष्ण खाँड गृहमन्त्रीका कारण जेल पर्नुभएको होइन । खाँडको विषयलाई लिएर गृहमन्त्री परिवर्तन गर्न जरुरी छैन ।’

काठमाडौंका मेयर बालेन शाहलाई अभिव्यक्तिलाई लिएर बहस गर्नुको अर्थ नरहेको पनि माओवादी नेता खनालको टिप्पणी छ । उनले भने, ‘अहिले बालेनको कुरा गर्नु आवश्यक छैन । बालेनले देश बनाइदिएर हामी खान्छौं भन्नु पनि भ्रम हो । उनको गालीगलौजलाई लिएर राष्ट्रिय बहस गर्नु जरुरी छैन । यस्ता पात्रहरु धेरै आए, गए ।’ चीनसँग सबै नाका खुलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका बेला राम्रोसँग उठाउनुपर्ने उनले औंल्याए । खनालले भने, ‘तर चुच्चे नक्साबारे चीनसँग बहस गर्ने अवस्था रहेन ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता