Logo

जनतासँग माओवादी कार्यक्रममा चन्द्रागिरी पुगेका प्रचण्डको बास चन्द्र ढकालको भव्य रिसोर्टमा



काठमाडौं, १६ भदौ । आजबाट नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी अभियान सञ्चालन गरेको छ। देशव्यापी रुपमा सुरु भएको उक्त अभियानअन्तर्गत पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल भने काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा पुगेका थिए ।

सो क्रममा उनले यसपटक आफू जनताको काम गर्न प्रधानमन्त्री भएको सुनाए । सरकारले जनताको पक्षमा दृढ भएर काम गरेको उनको भनाई थियो । तर, राम्रो काम गर्दागर्दै कसैले हटाउन प्रयास गरेमा करोडौं जनता सडकमा उतारेर प्रतिवाद गर्ने योजना बनाएको उनको भनाई थियो ।

सो क्रममा उनले अहिले परिस्थितिले आफूलाई पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना बढेको पनि खुलासा गरे । उक्त कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री बालुवाटार फर्किने धेरैको अनुमान थियो । तर, उनी आज चन्द्रागिरीमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको भव्य रिसोर्टमा बस्ने भएका छन् । प्रधानमन्त्री दाहालको व्यवसायी ढकालसँग सुमधुर सम्बन्ध छ ।

ढकालको आग्रहमा प्रधानमन्त्री दाहालको जम्बो टोली आज चन्द्रागिरीमा बस्ने जनाईएको छ । प्रधानमन्त्री दाहालको स्वागतको खातिर ढकालले भव्य तयारी बिहानैदेखि गरेका थिए । दाहाल आज उतै आराम गरेर भोलि विहान मात्रै काठमाडौं फर्किने बताईएको छ ।

जनतासँग माओवादी कार्यक्रम सुरुवात गरेका प्रधानमन्त्री दाहाल भने जनताको घरमा बस्न छोडेर व्यवसायीको महँगो रिसोर्टमा बस्नुले पनि यो कार्यक्रमको औचित्यबारे प्रश्न उठेको माओवादी नेता तथा कार्यकर्ताहरुले नै गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता