Logo

अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढी



सिन्धुपाल्चोक, भदौ ८ । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।

हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ ।

निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिए । “अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ”, उनले भने, “वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ ।”

पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले बताए । सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता