Logo

कोशी सरकारविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा



काठमाडौं,भदौ ७ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा उक्त रिट सुनुवाइका लागि पेशी तोकिएको हो ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको एमालेको जिकिर छ । यसरी प्राप्त गरेको विश्वासको मत गैर संवैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो ।

यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भए पछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । तर, विश्वासको मत लिने बेला पुनः सभाध्यक्षको मत लिए पछि एमाले फेरी पनि सर्वोच्च पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता