Logo

बर्षमान पुनको गर्जन : सरकारबाट बाहिर हुँदा एमाले छट्पटी चौतर्फी देखियो



नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रमुख प्रतिपक्षी एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको टिप्पणी गरेका छन्।

पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्ष सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताए।

एमालेले जेसुकै विषयमा अवरूद्ध गरेर जनताको आवाज बुलन्द गर्ने थलो संसदलाई बन्दी बनाउनुको कारण सोही छटपटीको अभिव्यक्ति भएको उनको भनाइ थियो।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको पुनले आरोप बताए।

‘भ्रष्टाचारविरूद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस् वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्मजस्तै भएको छ,’ उनले भने, ‘तीन वर्ष सत्ताबाहिर बस्नुपर्दाको छटपटाहट संसद् र बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टि गर्छ।’

पुनले निःशर्त संसदको अवरोध हटाएर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न एमाले नेतृत्वलाई आग्रह गरे। सुन तस्करी प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेको भन्दै उनले उसले प्रतिवेदन तयार पारेपछि चित्त नबुझे छानबिन समिति गठन गर्न सकिने विकल्प रहेको उल्लेख गरे। तर, वर्षौंदेखि काम गर्दै आएका राज्यका स्थापित संरचना र विधिलाई कामजोर बनाउने गरी समिति गठनको माग राख्नु अनुचित भएको उनको भनाइ थियो।

एमालेको जनमत घटेको मौकालाई आफूहरूले संगठन सुदृढीकरणको मौकाका रूपमा उपयोग गर्ने पुनले बताए। सरकारले गरेका राम्रा काम लिएर आफूहरु जनतामा जान र त्यसलाई संगठित शक्तिमा बदल्न केन्द्रीय समिति बैठकले तीन महिने अभियानको कार्यक्रम ल्याएको उनले बताए। सरकारको कामका कारण जनताले फेरि एक पटक माओवादीतर्फ विश्वासको नजरले हेरेको दाबी गर्दै उनले त्यसलाई संगठनात्मक शक्तिमा बदल्न पार्टी पंक्तिलाई निर्देशन दिए।

पुनले आफूहरूको नीति अब युवामैत्री नीति बनाएर अघि बढ्ने जनाए। युवाशक्तिको आवश्यकता, चाहना र समस्याको पहिचान गरी नीति बनाउनुपर्नेमा उनको जोड थियो। उनले राज्यलाई कर तिरेर स्वआर्जन र पारदर्शी कमाइबाट बाँच्न सक्ने युवा शक्ति तयार नपार्दासम्म मुलुकमा विकासको गति तीव्र हुन नसक्ने बताए।

‘आजका युवालाई आफ्नो कमाई र स्वआर्जनबाट बाँच्न सक्ने बनाउनुपर्छ’, उनले भने, ‘पारदर्शी कमाइबाट ट्याक्स तिरेर बाँचेको छु भनेर गौरव गर्ने युवा जमात तयार पार्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता