Logo

आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुईंचो



काठमाण्डौं,साउन २९ । सौरमास अनुसार साउने सोमबारको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो देखिन्छ । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ ।

आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् ।

आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेका थिए । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ । शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ ।

आज पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको छ । साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ । यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता