Logo

सीता दाहालले सिलाइबुनाइ गरेर पनि क्रान्तिलाई साथ दिनुभो : माओवादी सल्लाहकार



काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार समितिका अध्यक्ष नन्दकुमार प्रसाईंले सीता दाहालजस्तो धर्मपत्नी पाउनु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘भाग्य’ भएको बताएका छन् ।

‘सीताजीसँग मेरो सहकार्य २०६३ सालदेखि नै हो । उहाँ साह्रै शालीन महिला हो । प्रचण्डजी वाम आन्दोलनमा लाग्दाखेरि उहाँको जीवन अभावै अभाव र संघर्षै संघर्षमा बितेको छ । जनयुद्धमा होमिनुभन्दा अघि सिलाइबुनाइ गरेर भए पनि परिवारको पालनपोषण गर्नुभयो । श्रीमान्को टाउकाको मूल्य तोकिँदा र पलपलमा मृत्युको घन्टी बजिरहँदा पनि किञ्चित विचलित नभईकन क्रान्तिलाई निरन्तर साथ दिनुभो । मलाई लाग्छ, यस्तो धर्मपत्नी पाउनु प्रचण्डजीको भाग्य नै हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता प्रसाईंले सीता दाहाल पार्टीको ‘साइलेन्ट वर्कर’ (मौन राजनीतिकर्मी) भएको पनि बताए । उनले थपे, ‘सीताजी बिरामी नहुँदासम्म सल्लाहकार समितिको बैठकमा आउनुहुन्थ्यो । उहाँ अत्यन्त थोरै शब्दमा बोल्नुहुन्थ्यो । उहाँले राम्रो कार्यको कहिल्यै विरोध गर्नुभएन । नराम्रो कार्य गर्दै गर्नुभएन । काम धेरै गर्ने, कम बोल्ने क्रान्ति र पार्टीको कार्ययोजनामा सरिक हुने उहाँको स्वभाव थियो । नारी भएर मै खाऊँ मै लाऊँ गर्ने समाजमा उहाँले त्याग मात्र गर्नुभयो । सीता दाहाल साइलेन्ट वर्कर हो ।’ दाहालले जेठी छोरी ज्ञानु र छोरा प्रकाशको युवावस्थामै मरणले अपसोच लिएको पनि प्रसाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता