Logo

आफ्नै विधान मिचेर अगाडी बढ्दै कांग्रेस



काठमाडौं, असार २७ । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस आफ्नै विधान कुल्चँदै आएको छ । लोकतन्त्रलाई मान्ने हरेक देश संविधानअनुसार र हरेक दल विधानअनुसार चल्नुपर्ने सर्वमान्य सिद्धान्तलाई अंगीकार गरेको कांग्रेसले पछिल्लो समय आफ्नो विधान आफैं कुल्चँदै आएको हो ।

लोकतान्त्रिक मूल्यमान्यता बोकेको दल कांग्रेसका हरेक नेताकार्यकर्ताले विधिको शासनको कुरा गर्ने तर, विधि र विधानमाथि ‘कु’ गर्न पछि नपर्ने गरेका तथ्यहरू प्रशस्त छन् । पार्टीको केन्द्रीय नेतृत्वले नै विधानविपरीत कार्यहरू गर्दै आएपछि मातहतका समिति तथा भ्रातृ संगठनहरूसमेत विधानअनुसार चल्न नसकेको नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए।

पार्टीको चालचरित्र र चेहरा परिवर्तनको एजेन्डासहित कांग्रेस रूपान्तरणको अभियान चलाएका घिमिरेले मूल नेतृत्वबाटै पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताए। उनले भने– ‘कांग्रेसको मूल नेतृत्वबाटै विधानमाथि ‘कु’ भएको छ । मुलुकको लोकतान्त्रिक दल कांग्रेसका नेताहरूले नै विधानअनुसार पार्टी नचलाउँदा नेताहरूको नैतिक धरातलसमेत गुमेको छ । पार्टीको साख निरन्तर ओरालो लागिरहेको अवस्थालाई ख्याल गरेर हामीले त्यसलाई बदल्नुपर्नेछ । यसो गर्दा पार्टी नेतृत्व नै परिवर्तनको अवस्थासमेत आउन सक्छ ।’

१४औं महाधिवेशन भएको बिस महिना बितिसकेको छ । यो बीचमा पार्टीले गर्नुपर्ने तमाम कामहरू सभापति शेरबहादुर देउवाले थाँती राखेका छन्। महाधिवेशनको ६ महिनाभित्र मनोनयन गर्नुपर्ने कोषाध्यक्ष, केन्द्रीय सदस्यहरू, गठन गर्नुपर्ने विभाग र विभिन्न समितिहरू सभापति देउवाले बिस महिना बितिसक्दासमेत खाली राखेका हुन् । यी सबै कार्यका पूर्वतयारीका लागि प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठकसमेत एक वर्षदेखि बस्न सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता