Logo

एमाले उपाध्यक्षलाई प्रश्न— प्रचण्डसँगको सहमति लेनदेनमा भयो कि उधारोमा ?



काठमाडौं, २६ असार । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नमाग्ने प्रतिबद्धता नजनाएको बताएका छन् ।

‘प्रधानमन्त्रीले सदनमा भावनामा आएर त्यस्तो कुरा गरियो, कमीकमजोरी भयो, अब त्यस्तो दोहोरिंदैन, त्यसलाई क्रमशः सुधार गर्दै जान्छु, म सचेत भएँ, शिक्षा भयो भनेपछि हामी त्यही कुरामा अडिने कुरा त भएन नि । हामीले प्रधानमन्त्रीको सम्बोधनपछि संसद्को अवरोध हटाए पनि प्रधानमन्त्रीको राजीनामा कहिले पनि नमाग्ने भन्ने सहमति गरेका छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

एमाले उपाध्यक्ष ज्ञवालीले आफ्नो पार्टीले कडा कदम नचालेको भए प्रधानमन्त्री प्रचण्डले ‘रियलाइज’ गर्ने स्थिति नभएको पनि बताए । उनले थपे, यसको रिजल्ट राम्रै आयो । एमालेकै कारण प्रधानमन्त्रीले आत्मसमीक्षा, आत्मालोचना र होसियारीको अवसर पाउनुभयो । अब प्रधानमन्त्रीले मात्र होइन, सबै नेताले बोल्दा ख्याल गर्नुपर्छ ।’

प्रधानमन्त्रीले सोचिविचारी बोल्ने र राजीनामा पनि हतारिएर माग्नु नहुने उनले औंल्याए । राष्ट्रियता र लोकतन्त्रका सवालमा सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुपर्नेमा उनको जोड छ ।
तत्काल नेकपा (माओवादी केन्द्र) र एमालेबीच सहकार्यको सम्भावना नभएको पनि उपाध्यक्ष ज्ञवालीले बताए । उनले भने, ‘अहिले उहाँहरु सत्तापक्ष हो, हामी प्रतिपक्षमा छौं । उहाँहरुले समाजवादी मोर्चा बनाउनुभएको छ । कांग्रेससँग गठबन्धन गरी सरकार बनाउनुभएको छ । हामी २०८४ लाई टार्गेट गरेर पार्टी निर्माणमा लाग्छौं ।’ नेकपा ब्युँताउनु सिद्धान्ततः राम्रो भए पनि तत्काल एमालेसहितको नेकपा बन्ने सम्भावना नरहेको उनको धारणा छ । नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने स्थिति नरहेको पनि ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता