चर्चित रक गायक एवं अभिनेता रोविन तामाङको निधन

काठमाडौं, असार २० । चर्चित रक गायक एवं अभिनेता रोविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-५ विष्णुमती, चिसेनीस्थित घरमा मंगलबार बेलुका उनलाई मृत भेटिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट भएको छ । उनको मृत्युको कारण भने खुलिसकेको छैन। हाल उनको शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।
रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए। उनका ‘चिसो चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन्। छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन्।