Logo

१० अर्ब अपचलन गरी सुमेरु सहकारीका सञ्चालक बेपत्ता



ललितपुर,असार १७ ।  धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल । सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ नै थियो ।

आफूलाई स्वयं निर्मित व्यक्तित्वका रूपमा चिनाउन रुचाउने भरत ‘राम्रो गर्नु र राम्रो हुनु नै हाम्रो जीवनको एक मात्र लक्ष्य हुनुपर्छ’ भन्ने जीवन मन्त्रकै कारण आफू यो अवस्थामा आउन सफल भएको सुनाउँथे ।

तर उनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर आफ्नो निजी कम्पनीहरू खडा गरेको खुलेको छ । अनि बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित बेलायत पलायन भएका छन् ।

ब्याजको लोभमा सहकारीमा पैसा

महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी सुरु गरेका थिए । तर २०६२/६३ को आन्दोलनपछि सहकारी फस्टाउन थाले । किनकि सरकारले नै सहकारीलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाको मान्यता दियो र सरकारले दिने अनुदानहरूलाई सहकारी मार्फत दिन थाल्यो । राजनीतिज्ञहरूसँग निकट भएर भरत महर्जनले पनि त्यसको लाभ लिए ।

त्यसका अतिरिक्त साँझ ५ बजेसम्म कार्यालय खुला राख्नेदेखि अनेक स्मिक देखाएर सार्वसाधारणलाई लोभ्याए । सहकारीमा रकम जम्मा गर्न लगाए । जब सहकारीको पूँजी बढ्यो, उनले त्यसलाई मनपरी ढंगले चलाउन थाले ।

महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरे । २०६९ मा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोले । सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्म खोले । काठमाडौं उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरे ।

एउटा समय यस्तो थियो, उनलाई कुनै जग्गा मन परेपछि जुनसुकै मूल्यमा किन्थे । नजिकबाट चिन्नेहरू भन्छन्, ‘महाभारतको पाण्डुलिपि जति मोटो छ, भरत महर्जनले जग्गाको लालपुर्जा त्योभन्दा कम छैन ।’

३ करोडभन्दा बढी मूल्यको गाडी चढ्थे । परियोजना तथा कम्पनी उद्घाटन, शिलान्यास तथा सभाहरूमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतलाई बोलाउँथे । धन भएका व्यवसायीले बोलाएपछि नेताहरूले नाइँ भनेनन् । भेट दिए, बोलाएको ठाउँमा गएर रिवन काटे ।

सातदोबाटोस्थित सुमेरु ग्रुपको कार्यालयको बैठक कक्ष हेर्दा यस्तो लाग्छ, भरत महर्जनसँग फोटो खिच्न बाँकी कोही पनि ठूला नेता बाँकी छैनन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनालदेखि कांग्रेस महामन्त्री गगन थापासम्म उनी फ्रेममा अटाएका छन् । कसैसँग कुम जोडेर बसेको त कसैलाई पुष्पगुच्छाले स्वागत गर्दै गरेको तस्वीर बैठक हलभरी छन् ।

ललितपुरको २३ नम्बर वडा कार्यालय, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, सातदोबाटोस्थित महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन र सातदोबाटोकै महानगरीय प्रहरी वृत्तको भवन निर्माणमा अगुवा बनेर स्थानीयमाझ समाजसेवीको छवि पनि बनाएका थिए ।

अनि, राजनीतिक पहुँच भएका सफल व्यवसायी, समाजसेवी छवि देखाएर बचतकर्ताको विश्वास जितिरहे । ‘मैले आफ्नो, श्रीमान् र छोराछोरी सबै गरेर डेढ करोड रुपैयाँ राखेको छु’ एक बचतकर्ताले अनलाइनखबरसँग भने, ‘अस्पताल, कलेज लगायत सबै सम्पत्ति सहकारीकै हुन्, पैसा डुब्दैन भनेर देखाउनुहुन्थ्यो । होला त भनेर विश्वास गर्दा दुःख पाइयो ।’

३४ हजार भन्दा बढी बचतकर्ताको रकम भने आफू र परिवारको नाममा कम्पनी खोल्न र सम्पत्ति जोड्न खर्चिए । अहिलेसम्म प्राप्त विवरणअनुसार भरतले व्यक्तिगत र सुमेरु ग्रुप अन्तर्गतका कम्पनीको जग्गा जमिन र सम्पत्ति मात्रै १५ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै देखिएको छ । कतिपय जग्गाको विवरण आएकै छैन ।

श्रीमती र छोराछोरीको हालीमुहाली

सुमेरु सहकारीको पुल्चोकमा केन्द्रीय कार्यालय छ भने धापाखेल र गट्ठाघरमा शाखा कार्यालय । सुमेरुकै नामबाट कालीमाटीमा अर्को सहकारी छ । दुवै सहकारीमा गरी ३४ हजार ७७८ जना बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार ७०२ रुपैयाँ बचत छ । समाचार अनालाइन खबरले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता