Logo

सुस्मितालाई स्वर्ण



काठमाण्डौ,असार १४ ।   प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी यशस्वी अवाललाई ११–९, ११–३, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरिन् । स्ट्याग च्याम्पिन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी प्राज्ना महर्जन तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) का सुजन गडालले एपीएफ क्लबका राजीव चिकवन्जरलाई ११–६, ११–८, ११–९, ९–११ र ११–७ तथा बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतले गोड स्पिन टेबलटेनिस एकेडेमीका समिप श्रेष्ठलाई ११–९, ११–९, ११–७ र ११–७ को सेटमा हराउदै फाइनल भेट पक्का गरे ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र समाजसेवी सुमन खड्गीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । सो अवरसमा आयोजक संघका अध्यक्ष एवं ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, ओलम्पिक कमिटीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । क्यान्सर पीडित टेबलटेनिस खेलाडी सेलिशा खड्गीको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न आयोजित प्रतियोगितामा १ सय ७५ खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाएको प्रतियोगिता संयोजक एवं आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता