पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरु

काठमाण्डौं,असार १३ । पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरु भएको छ । मंगलबारबाट काठमाडौँको नेपाल पर्यटन बोर्डमा सुरु तालिममा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ जना पत्रकार महिलाहरूको सहभागिता छ । तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटनका बारेमा समेत प्रशिक्षण दिइने छ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को सहकार्य र सञ्चारिका समूह नेपालको संयोजनमा तीन दिनसम्म चल्ने तालिम नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रूपमा सञ्चालित जीविकोपार्जनको पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले आयोजना गरेको हो।
तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकार महीलाहरुका लागि यो तालीम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए ।