Logo

गल्फ टोली प्रशिक्षणका लागि भारत जाँदै



काठमाडौं, असार ९ ।  १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली शनिबार वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाँदैछ ।
प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देल सहित ६ सदस्यीय नेपाली टोली तरुण सरदेसाई गल्फ एकेडेमीमा तीन महिनाको विशेष प्रशिक्षणमा सहभागी हुनेछ ।

नेपाल नम्बर १ प्रो राई हाल जर्मनीको ड्रेसडेनमा प्रशिक्षणमा रहेका छन् र उनी एक महिना पश्चात बैंगलुरु पुग्ने नेपाल गल्फ संघका सदस्य तथा युवा विकास निर्देशक दिपक आचार्यले जानकारी दिए । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले शुक्रबार बिदाइ गरे । गल्फ खेलाडीहरूले प्रशिक्षणको क्रममा फिजिकल फिटनेस, न्युट्रिसन र मनोवैज्ञानिक सत्रका साथ तालिम लिनेछन् ।

गल्फ खेलाडीहरू सेप्टेम्बर २० सम्म तरुण सरदेसाई गल्फ एकेडेमीमा रहने छन् र सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने हाङ्झाओ एसियाली खेलकुदमा सहभागी हुनेछन् । एकेडेमीका निर्देशक तथा पूर्व भारतीय प्रोफेसनल गल्फर तरुण सरदेसाईको नेतृत्वमा प्रशिक्षण हुनेछ । प्रशिक्षण दौरान प्रत्येक साता प्रतियोगिता पनि हुनेछ ।
यसैबीच सुवास र सदभावले अर्किड कन्ट्री क्लबमा जुलाई १५ देखि १९ सम्म हुने सिंगापुर एमेच्योर ओपनमा समेत सहभागी हुनेछन् । एनजीएले गल्फ खेलको  विकासमा गरेको कार्य उदाहरणीय रहेको र अन्य राष्ट्रिय संघले पनि यसरी नै काम गर्नुपर्ने सदस्य सचिव घिसिङले बताए ।  “हामी टोलीका लागि हवाई भाडा र प्रशिक्षण लगायत सबै व्यवस्थापन गर्नेछौं र यसको बदलामा खेलाडीहरूबाट नतिजा चाहन्छौं,’’ उनले थपे ।

एनजीए अध्यक्ष घलेले बैंगलुरुमा बन्द शिविरको व्यवस्थापनको लागि परिषदलाई धन्यवाद दिए । “वर्षाको मौसम र उपकरणको अभावले हामी यहाँ प्रशिक्षण गर्न सक्दैनौं । हामीले दक्षिण एसियाली खेलकुद अघि दुई हप्ताको तालिम लिएका थियौं र त्यो खेलाडीहरूको लागि फलदायी थियो ।’’ उनले भने– “खेलाडीहरूले आगामी तीन महिना सेनाजस्तै कडा मिहिनेत गर्नुपर्ने छ । नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता