Logo

कम्युनिस्टहरू भगवान् मान्दैनन् भन्ने ‘माइन्डसेट’ प्रचण्डजीले तोड्नुभएको छ : भाजपा नेता



काठमाडौं, २० जेठ । नेपाल–भारत सम्बन्धका जानकार एवं भारतीय जनता पार्टीका नेता वेदप्रकाश शर्माले कम्युनिस्टहरु भगवान् मान्दैनन् भन्ने माइन्डसेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट तोडिएको बताएका छन् ।

‘नेपालका प्रधानमन्त्रीले मध्यप्रदेशको उज्जैन पुगेर भारतका १२ ज्योतिर्लिंगमध्ये एक महाकालेश्वर मन्दिरको  दर्शन गर्नुभयो । भारत र नेपालबीचको सम्बन्ध सुमधुर होस् भनेर प्रार्थना गर्नुभयो । १०८ किलोको रुद्राक्ष र ५१ हजार रुपैयाँ चढाउनुभयो । कम्युनिस्टहरु भगवान् मान्दैनन् भन्ने माइन्डसेट प्रचण्डजीले तोड्नुभएको छ । राजनीतिज्ञहरुले समयकालअनुसार विचारलाई अपग्रेट र व्यापक बनाउनुपर्छ । धार्मिक रुपमा आपसी सद्भावलाई अघि बढाउनु स्वागतयोग्य हो । राम्रो पहल हो,’ नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग शर्माले भने ।

प्रचण्डबाट कूटनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको पनि उनले बताए । शर्माले थपे, ‘धार्मिक कूटनीति ज्यादै पुरानो हो । यसलाई सरप्राइज रुपमा नलिनोस् । कम्युनिस्ट नेताले मन्दिरमा पुजा गर्नुलाई एप्रिसिएट गर्नुपर्छ । उहाँ कम्युनिस्ट नेता मात्र नभएर तीन करोड नेपाली जनताको प्रतिनिधि पनि हो नि ।’
नेता शर्माले नेपालमा राजतन्त्र फर्काउने नफर्काउने र हिन्दुराष्ट्र बनाउने नबनाउने कुरा भारतको हातमा नरहेको पनि बताए । उनले भने, ‘नेपालमा राजतन्त्र फर्काउने नफर्काउने र हिन्दुराष्ट्र बनाउने नबनाउने कुरा अर्को राष्ट्रले कसरी भन्ने ? कहिले फर्कन्छ न म भन्न सक्छु, न त तपाईं भन्न सक्नुहुन्छ । यो नेपाली जनताको चाहनाभा भर पर्छ ।’
भाजपाले नेपालमा हिन्दुराष्ट्रका निम्ति कसैलाई पैसा नदिएको पनि शर्माले बताए । उनले भने, ‘अमेरिकाले यस्ता धेरै फेब्रिकेटेड रिपोर्ट निकाल्छ । हंगर र ह्यापिनेस इन्डेक्समा भारतभन्दा पाकिस्तान र अफगानिस्तानलाई माथि देखाउँछ । यो रिपोर्ट नेपालको राजनीतिलाई अस्थिर बनाउने दुष्प्रयास हो ।’

नेपाल र भारतबीचको सीमा विवाद छिटै समाधान हुने पनि उनले औंल्याए । शर्माले भने, ‘सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान हुन्छ । तर यो दुई मिनेट म्यागी बनाएजस्तो होइन । बंगलादेशसँगको सीमा समस्या सुध्रन सक्छ भने नेपालको किन नहुने ? मोदीजीले नै नेपाल र भारतबीचका सबैखाले झीनामसिना समस्या दीर्घकालीन रुपमा समाधान हुन्छन् भनेपछि मैले के बोल्ने ?’ हवाई रुटका सम्बन्धमा दुई देशको ‘विन–विन’ हुने गरी काम हुने विश्वास पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता